
बागलुङ, ७ बैशाख ।
लकडाउनका कारण अलपत्र परेपछि पैदलयात्रा मार्फत घर हिडेका बागलुङ, रोल्पा र मुस्ताङका १४ जना मजदुरलाई बागलुङ बजारबाट उद्धार गरिएको छ ।
शनिबार पोखराबाट पैदल हिडेर आईतबार साँझ बागलुङ आपुगेका उनीहरुलाई बागलुङ प्रवेश नाका मालढुङ्गाबाट उद्धार गरि बागलुङ नगरपालिकाले निर्माण गरेको बानपा–१ रामरेखाको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको हाे ।
पैदल यात्रा मार्फत आईतबार दिउँसो पर्वतको मोदी गाउँपालिका आइपुगेका १८ जनालाई गाउँपालिकाले बागलुङको सिमामा ल्याएर छोडेको यात्रुहरुले बताएका छन् । उनीहरु मध्ये ३ जना म्याग्दीको भएकाले साँझ नै म्याग्दी पठाएको बागलुङ नगरपालिकाले जनाएको छ ।

१५ जनालाई रामरेखा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु मध्ये गल्कोट नगरपालिका बागलुङका ४ जना, सुनछहारी गाउँपालिका रोल्पाका ८ जना र मुस्ताङका ३ जना रहेका छन् ।
पोखराको विभिन्न आयोजनामा कार्यरत मजदुरहरुले आफुहरुले काम गर्दै आएको निर्माण सम्पन्न भएपछि लकडाउनले नयाँ काम नपाएको र दैनिक खाना र बस्नको समस्या भएपछि पैदल यात्रा मार्फ नै घर फर्कन लागेको बताएको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलका स्वकिय सचिव ऋषिराम गोतामेले जानकारी दिनुभयो ।
उनीहरुलाई बागलुङको प्रवेशद्वारबाट प्रहरीको सहयोगमा उद्धार गरी क्वारेन्टाइनमा राखिएको गोतामेले जानकारी दिनुभयो । यस्तै आजै दिउँसो रोल्पा हिडेका १८ जना मजदुरलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको थियो । उनीहरुलाई आश्रम स्थलमा राखिएको छ । आश्रमस्थलमा १८ जना सहित ४० जना मजदुरहरु बसिरहेका छन् । आजै आएका १८ जनालाई सुत्नको लागि ओड्ने ओछ्याउनेको अभाव भएपछि नगरपालिकाले व्यवस्था गरिदिएको छभने २ सय ओटा पिलेट र गिलास सहित खाद्यान्न आज आश्रमस्थलमा सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।










