बागलुङ, ७ बैशाख ।
करिब चार साता लामो लकडाउनका कारण अलपत्र परे पछि पैदलयात्रा मार्फत घर हिडेका रोल्पाका १८ जना मजदुरलाई बागलुङबाट उद्धार गरिएको छ ।
पोखरादेखि तीन दिनको पैदल यात्रा मार्फत बागलुङ हुँदै रोल्पा हिडेका मजदुरलाई आईतबार बागलुङ प्रवेश नाका मालढुङ्गाबाट उद्धार गरी आश्रम स्थलमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।
पोखराको विभिन्न आयोजनामा कार्यरत मजदुरहरुलाई दैनिक खाना र बस्नको समस्या भए पछि पैदल यात्रा मार्फत नै घर फर्कन लागेको हुन । उनीहरुलाई उद्धार गरी तत्कालिन स्थानीय शान्ति समितिको भवनमा राखिएको छ ।
प्रहरीका अनुसार रोल्पा परिवर्तन गाउँपालिका एक जना, गंगादेवी गाउँपालिका–५ का ९ जना र सुनछहरी गाउँपालिका–५ जना ८ जना मजदुर रहेका छन् । भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उद्योग वाणिज्य संघ बागलुङले शान्ति समितिको भवनमा गास, बासको टुङ्गो नभएकाहरुलाई सुरक्षित राख्नको लागि गत हप्ता आश्रय स्थल निर्माण गरेको थियो । गत सातादेखि नै आश्रय स्थलमा २२ जना बेवारिसे व्यक्तिहरु बस्दै आएका थिए ।
थप १८ मजदुर गर्दा आश्रय स्थलमा ४० जना पुगेका छन् । आश्रय स्थलको बेड क्षमताले उक्त संख्यामा मान्छेहरु राख्न नसक्ने भएकाले वैकल्पिक उपायको रुपमा धौलागिरी प्राविधिक प्रतिष्ठानको भवनलाई प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ ।
आश्रम स्थलमा रहेकाहरुलाई बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले खाद्यन्न सहयोग गरेका छन् । भने जिल्ला प्रहरी कार्यालय बागलुङले खाना उपलब्ध गराउँदै आएको छ ।










