
नवीन शिशिर
बागलुङ, ७ बैशाख ।
बागलुङ–पर्वत जोडने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न भएको छ ।
विस २०७५ चैत महिनाबाट निर्माण सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गेको निर्माण कार्य गत चैत्रमा सम्पन्न भएको हो ।
पुल निर्माणको सम्पूर्ण कार्य सकिएको निर्माण कम्पनी थानी/बिएलटि/हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए । पुलमा बिजुलीको लागि आवश्यक ‘वायरिङ्ग’ को काम मात्रा बाँकी रहेको छ ।
वायरिङ्गको काम पनि आधा सम्पन्न भएको र लकडाउनका कारण तत्काललाई आधा काम बाँकी रहेको प्रतिनिधि खडकाको भनाई छ । पुल बैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनको कारण प्रभावित भएको छ ।
कालिगण्डकी नदिमाथि बनेकाझण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमुना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाई छ । लकडाउन अवधिमा पनि १६ जना कामदारले नियमित काम गरेका थिए ।
निर्माणको सकिए पछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कुल ९४५ वटा स्टिल डिक (फ्ल्याक) विछ्याइएको छ ।
पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म हुनेछ ।
पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ ।

कालिगण्डकी नदीमाथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।
‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता थियो । उक्त पुल नेपाली इन्जिनियरहरुले नै डिजाईन गरेका थिए ।
यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दावी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो ।
चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुल्ला आकाशमा बनेकोले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाई छ ।








