
बागलुङ, ५ बैशाख ।
अहिले विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । उक्त भाइरसको रोकथामको लागि अहिले सरकारले मुलुकभर लकडाउन गरेको छ । लकडाउनको कारण सवै मानिसहरु घरभित्रै रहेका छन् । त्यसैको कारण अहिले सडकमा रहेका जनवारहरु भोकै बस्नुपरेको छ ।
तिनै भोका जनवारहरुको लागि शुक्रबार दिउँसो बागलुङ नगरपालिका–१ रामरेखाका दुई चेलीले मासु र भात खुवाएका छन् । नाताले अमाजुबुहारी नितु खड्का र सम्झना कार्की खड्काले आफै पकाएर बागलुङ नगरका चोक र गल्लीमा रहेका भोका कुकुरहरुलाई मासु र भात पकाएर खुवाएका हुन् ।

‘फस्ट एड बक्स वेलनेश टिम’की अध्यक्ष समेत रहेकी नितु खड्का र सदस्य सम्झना कार्की खड्काले लकडाउनको पालना गर्दै सवै नागरिक घरभित्रै रहँदा सडकमा कुकुरहरु भोकभोकै तड्पिएको देखेर खाना खुवाउने योजना गराएको जानकारी दिए ।

‘हामीले घरमा विभिन्न परिवारका बनाएर खान्छौं तर सडकमा कुकुरहरु भोकै रहेको छन्’, नितु खड्काले भन्नुभयो–‘कसैन कसैले त उनीहरुको माया गर्नुपर्छ र त्यसको सुरुवात आफुबाट गर्ने सोचका शुक्रबारदेखि खाना खुवाउन सुरु गरेका हौं ।’ शनिबार पनि खाना खुवाउने उहाँहरुले जानकारी दिनुभयो । ‘पशुपन्छी पनि मानिसहरु जस्तै हो उनीहरुलाई माया गरेमा हामीलाई माया गर्छ,’ नितु खड्काले भन्नुभयो–‘अहिले भोकभोकै हुँदा सडकमा हिड्दा मान्छेलाई समेत आक्रमण गर्न सक्छन । त्यसैले उनीहरुलाई मायाका साथ खाना खुवाउनुपर्छ ।’

बागलुङ नगरपालिकाको रामरेखा, हल्लनचोक, जिपपार्क, समिक्षालय चोक, लोकतान्त्रीचोक लगायतका बजार भित्रका चोक र गल्लीमा रहेका कुकुरहरुलाई खाना खुवाएको सम्झना कार्की खड्काले जानकारी दिनुभयो ।
भोकका कारण कुकुरहरु चोकचोममा मर्ने अवस्था आउने देखेर र स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको सम्झना कार्की खड्काले जानकारी दिनुभयो ।

स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र पाप–पूण्य जे गर्ने भएपनि यही जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्धाव र माया नै बाँड्नुपर्छ भन्ने सोचका साथ अभियानको सुरुवात गरिएको नितु खड्काले बताउनुभयो । उहाँले वेलनेश टिमले हरेक घरमा फस्ट एड बक्स वितरण गर्ने कार्यक्रम गर्दै आएको भएपनि मानवताको नाताले जनवारहरु पनि बाँच्नुपर्छ भनेर खाना खुवाएको बताउनुभयो ।

उहाँहरुले शुक्रबार बजारमा रहेका कुकुरहरुलाई समसुमाउँदै माया गरेर खाना खुवाउनु भएको थियो । उहाँहरुले नगरबासीहरुलाई लकडाउनको पालना गर्न अनुरोध गर्दै भान्सामा बचेको खाना आफ्नो टोलमा रहेका कुकुरहरुलाई खुवाउन आव्हान समेत गर्नुभएको छ ।











