बागलुङ, १ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बागलुङले ‘लकडाउन’ उल्लघन गरी जथाभावि संचालन भएका १७ मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिएको छ ।
नयाँ वर्षको दिन सोमबार तरकारी किन्ने बहानामा बागलुङ बजार हुँदै मालढुङ्गा परिक्रम गरेको अवस्थामा मोटर साईकल नियन्णमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एपी) नवराज भट्टले जानकारी दिनुभयो ।
नियन्त्रणमा रहेको सवारी साधनलाई लकडाउन अवधिभर प्रहरी कार्यालय मै राखिने छ । लकडाउन खुले पनि ट्राफिक नियम अनुसार जरिवाना गरी छोडने बताइएको छ । प्रहरीले तरकारी तथा खाद्यन्न किन्न बहानामा बजार डुल्ने सवारीलाई कडाई गरेको छ ।
नियन्त्रणमा रहेका मोटर साईक तथा स्कुटरको चालक सबै किशोर अवस्थामा रहेका छन् । सवारी चालकहरुलाई सम्झाई बुझाई छोडिएको छ । प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउन सचेतना मुलक माईकिङ्गसँगै गस्ती समेत बाक्लो बनाएको हो ।
प्रमुख भट्टका अनुसार अनावश्यक बजार डुल्ने तथा घरबाहिर जम्मा हुनेलाई नियन्त्रणमा लिने र आगमी दिनमा अनावश्यक चहल पहल नगर्ने प्रतिबद्धताका साथ छोड्ने गरेको जानकारी दिनुभयो ।
‘हाम्रो सानो असावधानीले ठूलो जोखिम हुन सक्छ’ बजारको अवस्था सामान्य छ–‘छिटफुट अटेर गर्नेलाई निगरानी गरेका छौँ ।’ प्रहरीले सुरक्षा कवज सहितका प्रहरी बजारमा परिचालन गरी अनावश्यक हिडडुल गर्नेलाई नियन्त्रणमा लिने गरेको छ ।










