
बागलुङ, ३० चैत ।
बागलुङ नगरपालिका–३ गौडोकोटका ११ जनाको कोरोना भाइरसको संक्रमणको नमुना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सोही स्थानकी ६५ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका ११ जनाको र्यापिड किट र स्वाब दुवै परीक्षण गरिएको थियो ।
र्यापिड किट ब्लडबाट चेक गरिन्छभने स्वाब घाँटीको र्यापिडबाट चेक गरिन्छ) । उहाँहरुको दुवै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी ६५ बर्षियाा महिलालाई चैत २० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीसँगै आएकी बागलुङ नगरपालिका–४ की १९ बर्षिया युवतीलाई चैत १६ गते भाइरसको संक्रमण देखिएपछि उनको परिक्षण गर्दा उनलाई पनि भाइरसको संक्रमण पुष्टि भएको हो । दुवै जना धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।
दुई जनालाई भाइरसको संक्रमण देखिएपछि मन्त्रिपरिषदले बागलुङलाई भाइरसको उच्च जोखिममा राखेर र्यापिड किटको परिक्षण सुरु गरेको थियो । पहिलो दिननै परीक्षण गरिएको किटमा ११ जनाकै रिपोर्ट नेगेटिभ आएपनि किटको विश्वसनीयताको लागि उनीहरुको स्वाब परीक्षणको लागि पठाईएको थियो ।










