
म्याग्दी, २९ चैत ।
म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्यापिड टेष्ट गरिने भएको छ ।
शनिबार दिउँसो देखि बेनी नगरपालिकामा चैत्र महिना यता विदेशबाट आएकाबाट सुरु हुने टेष्टको आवश्यक तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय बेनीमा प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी जिल्ला बागलुङमा दुई जना संक्रमित भेटिएसँगै बेनी अस्पतालले समुदायस्तर (मास स्केल)मा गरिने टेष्टमा बेनी नगरभित्रका ३८ जनालाई सम्पर्क गरिएको प्रमुख लम्सालले बताउनुभयो । ‘सम्पर्कमा नरहेका केहीलाई वडा अध्यक्षमार्फत जानकारी पठाइएको छ,‘विदेशबाट आएकोको रिर्पोट अनुसार थप परीक्षण गर्नेछौ’ लम्सालले भन्नुभयो ।
उहाँका अनुसार रघुगंगा ३६ जना,मंगला ३४ जना, मालिका ११, अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना चैत्र महिना यता विभिन्न देशबाट आएको तथ्याङ्क भएपनि केही अझै सम्पर्कमा आएकाले संख्या बढ्ने बताउनुभयो ।










