वास्तविक मजदुरलाई राहत दिन नागरिकता सहित तिनपुस्ते विवरण चाहिन्नः मुख्यमन्त्री गुरूङ

हरिकृष्ण गौतम
म्याग्दी, २८ चैत ।
राहत वितरणमा नागरिकताको छाँयाकपी र तिनपुस्ते विवरणको खोज्ने गरेको भन्दै बास्तविक मजदुरलाई सहयोग गर्न अनावश्यक विवरण नमाग्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई अनावश्यक विवरणको बोझ बनाएर राहत वितरणमा आलटाल नगर्न समेत सचेत बनाए ।


कोभिड–१९ बिरुद्ध जिल्लामा भइरहेको काम तथा उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा आइपुगेका मुख्यमन्त्री गुरूङलेले जनप्रतिनिधिले वितरण गरेको राहतमा गुनासोका गन्ध आउन थालेको बताउँदै गहिरो अनुसन्धान गर्न समेत अनुगमन टोलीलाई निर्देशन समेत दिए । ‘मजदुरलाई तिनपुस्ते खोज्ने, औठी र आइफोन समातेकालाई राहत दिनेहरुलाई खोज्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने । उनले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन टोलीले बास्तविकता पत्ता लगाउनुपर्ने बताए । ‘लकडाउनले खानै नपाएकालाई राहत दिने हो,‘पहुँच र दवावमा राहत दिनेलाई खोज्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने ।
उनले मापदण्ड अनुसार राहत वितरणमा समस्या भएमा प्रदेश सरकारले थप सहयोग गर्न सक्ने बताउँदै राहत वितरणमा खेल्न खोज्नेहरु अपराधी जस्तै भएको बताए । आफ्नो क्षेत्रमा समस्यामा परेकाहरुको विवरण सजिलै संकलन गर्न सकिने उनको तर्क थियो । मापदण्डमा प्रष्ट रुपमा अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत मजदुर भएकाले समस्यामा परेकालाई राहत उपलब्ध गराउनुपर्ने बताए । मुख्यमन्त्री गुरूङले राहत वितरणका रोचक घटनाहरुको उदाहरण दिदैं अनुगमन गरी आवश्यक प्रतिवेदन प्रस्तुत गर्न समेत प्रजिअ ढकाललाई निर्देशन समेत दिए । यसैबीच प्रजिअ ढकालले राहत वितरणको जिल्लाका सबै स्थानीय तहहरुको वडाको अनुगमन र रिर्पोट तयार गर्ने बताए ।


उनले राहत वितरण भइसकेका वडाहरुको अनगुमन गरिने र वितरण बाँकी रहेकालाई मापदण्ड अनुसार अगाडी बढ्न समेत सुझाव दिए । जिल्लाका ६ वटा स्थानीय तहका ४५ वडामा वितरण गरेको राहत तथा नामावलीहरु समेत प्रशासनले माग्ने भएको छ । यसैबीच मुख्यमन्त्री गुरुङलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाको सम्रग अवस्थामा बारेमा जानकारी गराएका थिए । उनले जिल्लामा चैत्र महिनाभित्र आएका १ सय ३९ जना रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्र बहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका उपसभापति माधबप्रसाद रेग्मी, जिल्लाका सरोकारवाला निकायका प्रमुखको उपस्थिति रहेको थियो । सोही अवसरमा मुख्यमन्त्री गुरूङले बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेको क्वारेन्टाइनमा समेत निरीक्षण गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here