
बागलुङ, २८ चैत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमित बागलुङका दुई जना बिरामीलाई राम्रोसँग उपचार गर्न आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमित बागलुङकी १९ बर्षिया युवती अञ्सु सापकोटा र ६५ बर्षिया महिला मनकुमारी पौडेलसँग टेलिफोनमा कुराकानी गर ेपछि मुख्यमन्त्री शुक्रबार धौलागिरी अञ्चल अस्पतालको अवलोकनमा आउनुभएको थियो ।

अवलोकन पछि अस्पताल विकास समिति, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री गुरुङले संक्रमित दुवै महिलाहरुको स्वास्थ्य उपचारमा अभाव र गुनासो नरहने गरी उपचार गर्न निर्देशन दिनुभएको थियो ।
उहाँले अस्पतालमा आवश्यक सघन उपचार कक्ष (आईसियु) निर्माण र संचालनको लागि बजेट र जनशक्तिको अभाव नहुने आश्वासन दिनुभयो । उहाँले आवश्यकताहरु धेरै भएको र तत्काल नहुने भएपनि संरचनाहरुलाई प्रयाप्त बनाउन विधि प्रकृयाबाट बजेट र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले आफु मातहतका अस्पताललाई ५ बेडको आइसोलेसन निर्माण गर्न निर्देशन दिएको र बागलुङमा चार बेडको भएकाले तत्काल बढाउन निर्देशन दिनुभयो । ‘धौलागिरी अंचल अस्पताल हाम्रो दोस्रो प्राथमिकताको क्षेत्र हो’ उहाँले भन्नुभयो–‘सुविधा सम्पन्न अस्पताल बनाउने कुनै कसर बाँकी रहन्न ।’
मुख्यमन्त्री गुरुङ्गले कोरोना संक्रमित दुवै जनाको स्वास्थ्य अवस्थाबारे विहिबार र शुक्रबार टेलिफोन मार्फत जानकारी लिनुभएको थियो । दुवै जनालाई स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए पनि स्थलगत अवलोकनको लागि शुक्रबार विहानै मुख्य सचिव हरिप्रसाद बस्याल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द नेपाली लगाएतको टोली सहित बागलुङ आउनुभएको थियो ।

मुख्यमन्त्री गुरुङले संघिय सरकारले स्वास्थ्यकर्मीको लागि उपलब्ध गराउने भत्ता रकममा थप २५ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभयो । उहाँले विमामा थप ५ लाख उपलब्ध गराईने जानकारी दिनुभएको थियो ।
संकटमा मानव बच्ने र बचाउने मुख्य कुरा भएकोले अधिकारको विषयलाई अनावश्यक उठान गर्नु उचित नभएको टिप्पणी गर्नुभयो । ‘मान्छे बाँच्ने पहिलो कुरा हो’, उहाँले भन्नुभयो– ‘त्यसपछि मात्रै मानव अधिकारको विषयलाई सम्बोधन गर्न सकिन्छ ।’ वर्तमान परिस्थिति, तर्क र छलफलको समय नभएको उल्लेख गर्दै सिधा ‘एक्सन’मा उत्रनुपर्ने बताउनुभयो ।
‘कोरोना संक्रमणले मानव सभ्यतालाई नै चुनौती थपिएको छ’ उहाँले भन्नुभयो– ‘ यो संकट समाधानको पहिलो उपाय लकडाउन हो सबैले पूर्ण पालन गर्नु अनिवार्य छ ।’ संकटमा परेकाले मावन अस्थित्व जोगाउनको लागि घरमै बसेर सरकारको निर्देशन पालन गर्न उहाँले जोडदिनुभयो ।
जिल्ला प्रशासन, सुरक्षा निकायलाई थप सक्रियताका साथ लकडाउनलाई कार्यान्वयन तथा राहत वितरणको परदर्शीता, निस्पक्षता, र बास्तविक आवश्यकताको विषयमा निगरानी बढाउन मुख्यमन्त्री गुरुङले निर्देशन दिनुभयो ।

अवलोकनको क्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र विक पोखरेलले आइसोलेसनमा रहेका दुबै विरामीको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार भइरहे पनि गर्भवती, डाइलाइसिस, अपरेसन र इर्मेजेन्सि सेवा सुचारु नै राखिएको जानकारी दिनुभयो ।
यस्तै, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले अस्पताल सेवा सुविधा विस्तारको लागि प्रदेश सरकारले आवश्यक भौतिक तथा मानवीय स्रोतको व्यवस्थाप गर्नुपर्नेमा जोडदिनुभएको थियो ।

उहाँले आइसियु निर्माणको काम भइरहेपनि अहिले निर्माण भइरहेको ‘सि’ ब्लकमा लिफ्टको लागि बजेट नभएकोले बताउँदै प्रदेश सरकारको ध्यानकर्षण गराउनुभयो । उक्त अवसरमा अस्पतालका फिजिसियन प्रदिप श्रेष्ठ र नर्सिङ इन्चार्ज शान्ति खड्काले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले गर्नुभएको थियो ।
फोटोहरु
भिडियो































