
बागलुङ, २७ चैत ।
बागलुङ नगरपालिका बागलुङले खाद्य सामाग्री आपूर्तिका लागि सहज बातावरणको निर्माण गर्न पहल गर्ने भएको छ ।
बागलुङ नगरपालिका उपप्रमुख तथा आकस्मिक कार्य सम्पादन समितिका संयोजक सुरेन्द्र खडकाको अध्यक्षतमा बिहिबार सम्पन्न बैठकले दैनिक उपभोगका सामाग्री आपूर्तिलाई सहज बनाउन सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।
उद्योगी व्यवासायी समेत सहभागी रहेको बैठकले बागलुङमा पर्याप्त मात्रामा दाल, चामल, चिनी, नुन, तेल जस्ता खाद्यन्न रहेको निष्कर्ष निकाल्दै अनावश्यक भण्डारमा नगर्न आग्रह गरेको छ ।
बैठकले ग्यासको उपलब्धता र आवश्यकताबारे सूचना संकलन तथा अवस्था विश्लेषणको लागि व्यवासायी गणेश लम्साललाई फोकल पर्सन तोक्ने निर्णय गरेको बागलुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बैठकले कृतिम अभाव सृजना हुन नदिने र उपभोक्तालाई आतंकित नहुन आग्रह गरेको छ ।










