
बागलुङ, २७ चैत ।
कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग पु¥याउने उद्देश्यले बागलुङको धौलागिरी अञ्चल अस्पताल र ६ पालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
फेरमेट फाउण्डेसन नेपालको सहयोगमा विवाईसी बागलुङद्वारा संचालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले धौलागिरी अञ्चल अस्पताल सहित ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा र परियोजनाका कार्यक्रम संयोजक गणेश बरुवालले ३ हजार पिस माक्स, २५० ग्लोब्स र ६ ओटा सेनिटाइजर ६ पालिकालाई समान रुपमा वितरण गरिदिनको लागि बुधबार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र वि.क. पोखरेललाई १५ सेट पिपिई, १ हजार पिस माक्स, २५० ग्लोब्स र ६ ओटा सेनिटाईजर हस्तान्तरण गर्नुभएको थियो ।
महामारीको रुपमा फैलिएको कोरोना रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो । उहाँले स्वास्थ्यकै कार्यक्रम भएकाले र उक्त कार्यक्रम संचालन भइरहेका पालिकामा सहयोग गरिएको बताउनुभयो ।










