
बागलुङ, २६ चैत ।
बागलुङका दुई जना कोरोना संक्रमितसहित दश जनाको स्वास्थ्य परीक्षणको लागि नमुना संकलन गरी पोखरा पठाइएको छ ।
कोरोना संक्रमित बानपा– ४ कँुडुलेकी १९ बर्षिया युवतिको दोस्रो रिपोर्ट पनि पोजेटिभ आए पछि तेस्रो र बानपा ३ गौडाकोटकी ६५ बर्षिया कोरोना संक्रमित महिलाको दोस्रो पटक स्वाव परीक्षणका लागि पठाइएको हो ।
बिहिवारसम्म रिपोर्ट आउने धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । कैलालीका कोरोना संक्रमितसँगै आएका बागलुङको बरेङ गाउँपालिकाका चार र अन्य देशबाट आएका चार गरी आठ जनाको पनि कोरोना परीक्षणको लागि नमुना संकलन गरी पठाइएको हो । उनीहरु बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।
आठ जनाको बरेङ गाउँपालिकामा नै पुगी नमुना संकलन गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको टोलीले मंगलबार बरेङ गाउँपालिका स्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा पुगेर थ्रेट स्वाब संकलन गरेको थियो ।
उनीहरु भारतको कर्नाटकबाट धनगढीहुँदै पाल्पामा ७ दिन बसेर बागलुङको बरेङ आएका थिए । ८ जना युवाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । बागलुङ जिल्लामा हालसम्म २६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।










