
बागलुङ, २६ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सरकारले मुलुकलाई लकडाउन गरेकोे छ । चैत ११ गते बिहान ६ बजेबाट सुरु भएको लकडाउन बैशाख ३ गतेसम्म हुने लम्बाइएको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न आव्हान गरिएको लकडाउनलाई सहरी क्षेत्रमा प्रहरीले कडाईका साथ लागु गराए पनि गाउँमा छिटफुट सवारी चले पछि जनप्रतिनिधिहरुले अहिले कडाई गर्न थालेका छन् ।
काठेखोला गाउँपालिका–३ धम्जामा बुधबार लकडाउन उल्लंघन गरि चलाइएको अवस्थामा एक बाइक स्थानियले नियन्त्रणमा लिएका छन् । मंगलबार बागलुङ नगरपालिका–७ पालाबाट धम्जा पुगेको बाइकलाई स्थानियहरुले बुधबार फर्कने क्रममा नियन्त्रणमा लिएको स्थानिय लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।
दुई जना सवार उक्त बाइक मंगलबार आफन्तलाई औषधि ल्याएर आएको र फर्किन लागेको बताए पनि औषधि ल्याएको कुनै पुष्टि नभएकोले बाइक नियन्त्रणमा लिई सम्झाई बुझाई छोडेको भण्डारीले बताउनुभयो ।
सरकारले लकडाउनलाई कडाई गर्दै एक स्थानिय तहबाट अर्को स्थानिय तहमा जान बन्द बन्देज लगाएको छ । उहाँहरुको बाइक लकडाउन अवधिभर सुरक्षित साथ धम्जामै राखिने भण्डारीले बताउनुभयो । यस्तै बुधबार बा.न.पा.–७ बाट खसी खोज्न भनि काठेखोला–२, भीमापोखरा हुँदै धम्जा जान लागेको बाइकलाई स्थानियहरुले विचबाटै फकाएका छन् ।
तस्विरः लोकबहादुर भण्डारी










