विदेशबाट आएका ८ सय २३, पालिकाको क्वारेन्टाइनमा जम्मा १८ जना

बागलुङ, २४ चैत ।
कोरानो नियन्त्रणमा स्थानीय तहको भूमिका प्रभावकारी देखिएको छैन । उनीहरुले संक्रमण नियन्त्रण गर्ने भन्दा पनि प्रचारमुखी कार्यक्रम गरिरहेका छन् । पछिल्लो समयमा विदेशबाट आएकाहरु खुलम खुल्ला गाउँभरी हिँडिरहेका छन् भने स्थानीय तहले निर्माण गरेका क्वारेनटाईने रित्तै छन् ।
बागलुङका १० वटै स्थानीय तहले क्वारेनटाईन निर्माण गरे पनि त्यसलाई उपयोग गरेका देखिन्न । जिल्लाको बडिगाड गाउँपालिकाले १० जना र बरेङ गाउँपालिकाले ८ जना बाहेक अन्य स्थानीय तहले क्वारेनटाईनमा राखेका छैनन् । जिल्लाका १० स्थानीय तहमा २ सय ३८ बेडको क्वारेनटाईन तयार छ ।
चैत महिनाको १ गतेपछि बागलुङमा कुल ८ सय २३ जना भारत तथा अन्य मुलुकबाट भित्रिएका छन् । उनीहरु सवै होम क्वारेन्टाइनमा रहेको र स्थानिय तहको निगरानीमा रहेको स्थानिय तहले जानकारी गराएका छन् ।
चैत १ गतेदेखि बागलुङ नगरपालिकामा भारतबाट मात्र ८१ जना र अन्य देशबाट ५४ जना गरी १ सय ३५ जना भित्रिएका छन् तर नगरपालिकाले ४० बेडको मात्र क्वारेन्टाइन निर्माण गरेपनि अहिलेसम्म एक जना पनि उक्त क्वारेन्टाइनमा राख्न सकेको छैन । नगरपालिकाले सवलाई होम क्वारेन्टाइनमै बस्न अनुरोध गरिरहेको छ । यस्तै २० बेडको क्वारेन्टाइन निर्माण गरेको गल्कोट नगरपालिकामा १ सय २८ जना विदेशबाट आएका छन् । उनीहरु पनि अहिलेसम्म घरमै बसेका छन् ।
जिल्लामा सबैभन्दा धेरै विदेशबाट आएको पालिका हो बडिगाड गाउँपालिका । बडिगाडमा चैत १ गतेदेखि भारतबाट १ सय ३३ जना र अन्य देशबाट १९ जना गरी १ सय ५२ जना भित्रिएका छन् । पालिकाले निर्माण गरेको ५४ बेडको क्वारेन्टाइनमा हालसम्म १० जना बसेका छन्भने अन्य १४२ जना होम क्वारेन्टाइनमै रहेका छन् ।
यस्तै ८ जनालाई क्वारेन्टाइनमा राखेको बरेङ गाउँपालिकामा ५६ जना विदेशबाट आएका छन् । गाउँपालिकाले ३६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
यस्तै १६ बेडको क्वारेन्टाइन निर्माण गरेको ढोरपाटन नगरपालिकामा भारतसहित अन्य देशबाट ७१ जना आएका छन् । ढोरपाटनले पनि अहिलेसम्म १ जनालाई पनि आफुले निर्माण गरेको क्वारेन्टाइनमा राख्न सकेको छैन । विदेशबाट आएका सवै होम क्वारेन्टाइनमा रहेको नगरपालिकाले जानकारी दियो ।
यस्तै जैमिनी नगरपालिकामा विदेशबाट आएका ८६ जनानै घरमा छन् । नगरपालिकाले ७ बेडको मात्र क्वारेन्टाइन निर्माण गरेपनि अहिलेसम्म कसैलाई राख्न सकेको छैन । काठेखोला गाउँपालिकामा विदेशबाट आएका ५२ जना पनि घरमै छन् । गाउँपालिकाले सवै वडामा ६–६ बेडको क्वारेन्टाइन निर्माण गरेपनि अहिलेसम्म प्रयोगमा ल्याएको छैन । गाउँपालिकामा विदेशबाट आएका १ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
यस्तै ताराखोला गाउँपालिकामा ३३ जना विदेशबाट आएका छन् । तर गाउँपालिकाले ११ बेडको मात्र क्वारेन्टाइन निर्माण गरेपनि अहिलेसम्म प्रयोगमा ल्याएको छैन । ५ वेडको मात्र क्वारेन्टाइन निर्माण गरेको तमानखोला गाउँपालिकामा ७ जना विदेशबाट आएका छन् । उनीहरु सवै होम क्वारेन्टाइनमा छन् ।

यस्तै निसीखोला गाउँपालिकामा १ सय ३ जना विदेशबाट आएका छन् । उनीहरु सवै होम क्वारेन्टाइनमा रहेको र ४ बेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
चैत १ गतेयता आफ्नो स्थानीय तहमा भित्रिएकालाई स्थानीय तहले होम क्वारेनटाईनमा बस्न भने पनि तीनीहरुको प्रभावकारी निगरानी भएको छैन । कुनै स्थानिय तहहरुले भेटेरै होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेपनि जिल्लाका १० ओटै स्थानिय तहमा विदेशबाट आएका गाउँमा खुल्ला रुपमा हिडडुल गरिरहेका छन् ।
विदेशबाट आएकाहरुको नियमित निगरानीमा स्थानिय तह रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । उहाँले विदेशबाट आएकाहरुलाई करकारपले झन नेगेटिभ रेस्पोन्स होला भन्ने डरले घरमा छुट्टै कोठामा होम क्वारेन्टाइनको रुपमा बस्न अनुरोध गरिएको र नियमित निगरानीमा राखिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले स्थानीय सहयोग नगरे कोरोना नियन्त्रण गर्न नसकिने बताउँछन् । ‘क्वारेनटाईन त निर्माण भए तर त्यहाँ राख्दा गर्नुपर्ने खानपानको व्यवस्थापन देखि खटाउने स्वास्थ्य सम्बन्धी जनशक्तिको अभावले धेरैलाई घरमै क्वारेनटाईमा बस्न भनेका छौं,’ उनले भने,‘यसमा नागरिक स्तरमा सचेत भएर सहयोग नभए त गाह्रो हुन्छ ।’
शनिबार मात्रै कैलाली र कञ्चनपुरमा तीन जनालाई कोरोना पोजिटिभ देखिए पछि उनीहरुसंगै गौरीफन्टा नाकाबाट आएका तीन जनाको अहिले बागलुङमा खोजी सुरु भएको छ । उक्त समुहमा बागलुङ ७ जना रहेको बताईएको छ । उनीहरुमध्ये चार जना बरेङ गाउँपालिकाको क्वारेनटाईनमा रहे पनि अन्य तीन जनाको अवस्था बारे अहिलेसम्म थाहा लाग्न सकेको छैन ।
बागलुङमा २ जनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट आएका १९ बर्षिय युवती र ६५ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरि उपचाररत रहेका छन् । अञ्चल अस्पतालमा ४ बेडको आइसोलेसन वार्ड रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here