
अर्जुन कार्की
बागलुङ, २१ चैत ।
नेपालमा कोरोनाको संक्रमित संख्या ६ पुगेको छ । तर १ जना सन्चो भएर घरफर्किका छन्भने ५ जना आइसोलेसनमा उपचाररत छन् ।
गत चैत्र ४ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ विमानमा सवार एक महिलालाई भाइरसको संक्रमण भएको पुष्टि भयो । उक्त विमानमा सवार २ जना युवतीलाई यस अगाडी नै भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । यस अगाडी विमानमै सवार चैत १० गते काठमाडौंकी १९ बर्षिय किशोरी र १५ गते बागलुङकी १९ बर्षिय किशोरीमा भाइरसको संक्रमण देखिएको थियो ।
शुक्रबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो भने बागलुङमा २ पुगेको छ । नेपालको पाँचौं र छैटौं दुवै संक्रमित व्यक्ति बागलुङका हुन् ।
छैटौं संक्रमित बागलुङ नगरपालिका–३ की ६५ बर्षिय महिला कान्छि छोरीलाई भेटन बेल्जियम पुगेर फर्किएको खुल्लन आएको छ । कान्छि छोरीसँग भेटको लागि १ महिनाको भिषामा बेल्जियम पुगेकी उनी १५ दिन मात्र बसेर नेपाल फर्किएकी थिइन । दमको रोगी रहेकी उनी विश्वव्यापी कोरोनाको संक्रमण देखिन थालेपछि घरपरिवारको सल्लाहमा १५ दिनमै नेपाल फकाईएको उनका छोराले जानकारी दिए ।
बागलुङका दुवै संक्रमित बेल्जियमबाट सँगै आएका हुन् । चैत ४ गते विमानबाट काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरु सिधै आन्तरिक विमानस्थलमा ट्याक्सीमा गएका थिए । उनीहरुलाई ल्याउन बागलुङबाट छैटौं संक्रमित बृद्धका जेठा ज्वाई गएका थिए । उनीहरुसँगै सोहि दिन ज्वाई पनि दिउँसो १२ः४५ बजे ‘यति एयरलाईन्सको ६७९’ विमानबाट पोखरा विमानस्थल झरेका हुन् ।
पोखरा विमानस्थलबाट ट्याक्सीमा बागलुङ आउने ० किमीमा आईपुगेका उनीहरु त्यहाँबाट दिउँसो स्कारपियोले बागलुङ बजार ल्याएको हो । उक्त स्कारपियोले तीनै जनालाई आ–आफ्नो घरमा चैत ४ गते साँझ पु¥याएको थियो ।
चैत १० गते उनीहरु सवार विमानमा सवार काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बागलुङकी १९ बर्षिय युवतीको पहिले परीक्षण गरिएको थियो । उनलाई ज्वरो र खोकी लागेको कारण पहिले परीक्षण गरिएको थियोभने बृद्ध महिलालाई कुनै लक्षण नदेखिएपछि नमुना परीक्षण गरिएको थिएन ।
उनीसँगै आएकी १९ बर्षिय युवतीमा चैत १५ गते संक्रमण देखिएपछि बृद्धको नमुना परीक्षणको लागि मंगलबार स्वाब काठमाडौं पठाइएको थियो ।
दुवै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा बसेकी बृद्ध महिलालाई भाइरसको लक्षण देखिएपछि घरपरिवार नै अच्चममा परेको उनका छोराले जानकारी दिए । ‘भाइरस हुन सक्ने स्वास्थ्यकर्मीहरुले भने अनुसारको कुनै लक्षण देखिएको थिएन’, उनका छोराले भने–‘अहिले संक्रमण देखियो भन्दा पत्याउन नै गाह्रो पर्यो । स्वास्थ्यकर्मीहरुले नै फोन गरेर संक्रमण देखिएको भनेपछि विश्वास लाग्यो ।’
संक्रमित बृद्धलाई बिहिबार राती धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनलाई अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीहरुलाई त्यति सजिलो भने भएन । विरामी ल्याउनको लागि राखिएको एम्बुलेन्सका चालक नै राती फरार भएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कार्यालयको एम्बुलेन्सका चालकलाई लगेर विरामी ल्याएका थिए ।
नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको एम्बुलेन्स प्रयोग गर्ने निर्णय भएपनि चालक जान नमानेर फरार भएका थिए ।










