
बागलुङ, २१ चैत ।
काठेखोला गाउँपालिका–४ तंग्रामका एक युवाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना नभएको पुष्टि भएको हो ।
स्पेनबाट आएका उनलाई ज्वरो आएपछि कोरोना संक्रमणको आशंकामा नमुना परीक्षणको लागि बुधबार पोखरा पठाइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको नमुनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक बुधबार कोरोना संक्रमण ल्याब परीक्षण गरिएको हो । बिहिबार परिक्षण गरिएको बागलुङका युवाको रिपोर्ट नेगेटिभ आएको हो ।
चैत ७ गते स्पेनबाट काठमाडौं आएका युवा चैत ९ गते काठमाडौंबाट यती एयरलाइन्सको विमानमा पोखरा र सोहि दिन बागलुङको तंग्राम स्थित आफ्नो घरमा आएका थिए ।
घर आएपछि ज्वरो आएपछि विदेशबाट आएको कारण कोरोनाको आशंकामा घाँटीको स्वाब परीक्षणको लागि पठाइएको हो । मंगलबार स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्लीप्रसाद आचार्य र कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरी युवाको घरमै पुगेर स्वाब संकलन गर्नुभएको थियो ।
उनी होम क्वारेन्टाइनमै बसिरहेका छन् ।










