
बागलुङ, १६ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलो रोक्नको लागि काठेखोला गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
गुहेली संचार सहकारी संस्था लिमिटेडले गाउँपालिका र वडा नम्बर २ भीमापोखराको स्वास्थ्य चौकीलाई सेनिटाइजर र साबुन सहयोग गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको भाइरस भित्रिन नदिन साबुनपानीले हात धुनुपर्ने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने भएकाले गाउँपालिका र स्वास्थ्य चौकीलाई सामाग्री सहयोग गरिएको सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले भाइरस भित्रिन नदिनको लागि मुलुकलाई लकडाउन गरेको अवस्थामा स्वास्थ्य सामाग्रीको अभाव सिर्जना भएकाले स्वास्थ्य चौकीमा आउने सेवाग्राहीहरुलाई सहयोग पु¥याउनको लागि गाउँपालिकालाई ३० सेनिटाइजर र ३ दर्जन साबुन सहयोग गरिएको र स्वास्थय चौकीलाई २० वटा सेनिटाईजर र २ दर्जन साबुन हस्तान्तरण गरिएको छ ।
उक्त सामाग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क. र भीमापोखरा स्वास्थ्य चौकीका प्रमुख सोमनाथ पाण्डेलाई सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो ।
‘विपदको बेलामा सवैले सरकारलाई सहयोग गर्नुपर्छ’, अध्यक्ष कार्कीले भन्नुभयो–‘त्यसै अनुरुप १६ हजार बराबरको सामाग्री सहयोग गरेका हौं ।’ गाउँपालिकालाई हस्तान्तरण गरिएका सामाग्री गाउँपालिकाका सवै वडामा वितरण गरिनेछ ।
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना गरिएको सहकारीले हाल बागलुङ बजारमा शाखा कार्यालय स्थापना गरि सेवा प्रदान गरिरहेको छ । सहकारीबाट बचत तथा ऋण कारोबार सहित जननिगरानी साप्ताहिक पत्रिका र खबरवे डटकम अनलाईन संचालन हुँदै आएका छन् ।










