बागलुङ, १६ चैत ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन् । आईतबार सम्म नेपालमा ५ जनालाई भाइरसको संक्रमण देखियो । त्यसमध्ये १ जना निको भएर घर फर्किसकेका छन्भने अझै ४ जना उपचारको क्रममा छन् ।
यस मध्ये बेल्जियमबाट कतारह’ँदै नेपाल आएकी बागलुङकी १९ बर्षिय युवतीमा भाइरसको संक्रमण भएको शनिबार दिउँसो पुष्टि भएको छ ।
बेल्जियममै बस्दै आएका बुवाआमालाई भेटन साढे २ महिना अगाडी बेल्जियम गएकी उनी चैत ४ गते बेल्जियमबाट कतार हँुँदै नेपाल फर्किएकी थिइन । उनका बुबा १ महिना अगाडीनै घर फर्केका छन् ।
उनीसँगै एउटै विमानमा आएकी काठमाडौंकी १९ बर्षिय युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि नमुना परीक्षण गर्दा उनमा पनि भाइरस देखिएको हो ।

चैत ४ गते विहान १० कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनी सिधै आन्तरिक विमानस्थलमा ट्याक्सीमा गएकी थिइन् ।
त्यहीबाट उनी दिउँसो १२ः४५ बजे ‘यति एयरलाईन्सको ६७९’ विमानबाट पोखरा विमानस्थल झरिन् । पोखरा विमानस्थलबाट ट्याक्सीमा बागलुङ आउने ० किमीमा आईपुगेकी उनी त्यहाँबाट दिउँसो स्कारपियोले बागलुङ बजार ल्याएको हो । उक्त स्कारपियोमै उनी चैत ४ गते साँझ आफ्नो घर पुगेकी थिइन ।

४ गते नै घर आएकी उनलाई ७ गते हल्का ज्वरो आएपनि भोलीपल्टै सन्चो भएको थियो । त्यसको केहि दिनमा पुनः ज्वरो आएपछि र १० गते काठमाडौंमा उनी सवार विमानमा आएकी महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनको पनि खोजी भएको थियो ।
उनी सोहि विमानमा आएको र खोकी र रुघा लागेको कारण चैत १२ गते बिहान धौलागिरी अञ्चल अस्पतालबाट चिकित्सकहरुको टोली उनको घरमा पुगेर घाँटीको स्वाब निकालेको थियो । उक्त स्वाब परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालहुँँदै काठमाडौं पठाएको थियो ।
उनको अवस्था सामान्य भएको कारण चिकित्सकहरुले उनलाई घरकै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो ।
चैत १५ गते दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरि उनलाई भाइरस संक्रमण देखिएको पुष्टि गरिएको थियो ।

संक्रमण पुष्टि हुँदा सम्म आफ्नै घरको होम क्वारेन्टाइनमै बस्दै आएकी उनलाई शनिबार राती ११ बजे धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको छ । हालसम्म उनको अवस्था सामान्य रहेको छ । अहिले ज्वरो नभएपनि खोकी रहेको अस्पतालले जनाएको छ ।
यस्तै नेपालमा पुष्टि भएका अन्य तीन जनामध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।










