
बागलुङ, १५ चैत ।
कोरोना संक्रमण रोक्न सरकारले मुलुक ‘लकडाउन’ गरे पछि काम विहिन भएका विपन्न मजदुर परिवारलाई बागलुङ बजारमा दिवा खानाको व्यवस्था गरिएको छ ।
बागलुङ नगरपालिकाले बानपा– ४ कुडुँले स्थित शालिग्राम संग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाए सुरु गरेको हो ।
बागलुङ नगरपालिकाले बेसाहार, अभिभावक विहिन, ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर, अति विपन्न व्यक्तिलाई दिवा खाना खुवाउन पकाएर बितरण गरिएको मुक्तिनाथ बेद बिद्याश्रमका स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा खाना पकाएर बाड्ने ब्यबस्था मिलाएको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले बताउनुभयो । सरकारको भिडभाड नगर्नु भन्ने नीति र सजकता अनुरुप पकाएको खाना प्याकिङ गरेर बाड्ने काम गरेको खड्काले बताउनुभयो ।
जिल्ला सदरमुकाममा बसेर फुटकर मजदुरी तथा दैनिक ज्यालादारीमा काम गर्ने, गरिब, बिपन्नका लागि सञ्चाचलन गरिएको मेसबाट पहिलो दिन १५० जनालाई खाना वितवरण गरेको ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । क्याम्पसमा उपस्थित मजदुर बाहेक बागलुङ बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदुरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर बितरणको प्रवन्ध मिलाएको छ । नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत कोष सहित स्थापना गर्नुका साथै नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधी छर्ने कार्य जारी राखेको छ ।
बागलुङ नगरपालिकाको १४ वटै वडामा रहेका बिपन्न श्रम गरेर बिहान बेलुकी जीवन गुजारा गर्नुपर्ने मजदुरको लगत संकलन गरेर चामल नुन तेल बितरण गर्ने कार्यक्रम बनाएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।










