
बागलुङ, १५ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि पूर्वसतर्कता अपनाउँदै काठेखोला गाउँपालिकाले प्रत्येक वडामा ६ बेडका एकान्तबास (आइसोलेन) निर्माण गर्ने भएको छ ।
हरेक वडामा कम्तीमा ६ बेडको आइसोलेसन निर्माण गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । ‘संक्रमण जतिबेला पनि फैलिन सक्छ अहिले ढुक्क भएर बस्ने अवस्था छैन’ उहाँले भन्नुभयो–‘सतर्कता र साधवानी अपनाउन सकिएन भने पछुताउनु बाहेक विकल्प हुनेछैन ।’
गाउँपालिकाले भाइरस भित्र्न नदिनको लागि गाउँपालिका भित्र विदेशबाट आएका ४६ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । गाउँपालिकाले विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा राखेर स्वास्थ्यचौकीबाट नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
यस्तै गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) राहत एवं उद्धार कोष स्थापना गर्ने भएको छ । गाउँ कार्यपालिकाको आईतबार बैठक बस्ने र कति रकमको कोष स्थापना गर्ने भन्ने बारेमा निर्णय हुने कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिनुभयो ।
कोषको लागि गाउँपालिकाले केहि रकम राख्नेछ भने अन्य रकमको लागि गाउँपालिका भित्र रहेका संघ, संस्था, व्यवसायीहरुलाई आग्रह गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो
भाइरसको संकटकालिन अवस्थालाई ध्यानमा राखेर सरकारले मुलुकलाई ‘लकडाउन’ गरे पछि घर फर्केकाहरु गाउँमा भेला हुने, मनोरञ्जन तथा खेलकुदका गतिविधि गरे पछि पालिकाले सामूहिक भेला तथा समूह कार्यमा कडाई गरेको छ ।
पालिकाका सबै वडामा सचेतना मुलक माईकिङ गरिएको थियो । गाउँमा केही हुँदैन भनेर विसम परिस्थितीलाई उल्लघन गरे कारवाहीको चरणमा समेत पुग्न बाध्य हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माको भनाई छ । सबैको सहयोगले मात्रा जोखिम न्युनिकरण गर्न सकिन्छ’ उहाँले भन्नुभयो–‘सरकारको आग्रहलाई वेवास्ता गरे कानुन बमोजिम चल्ने अवस्था आउन सक्छ ।’










