फ्रान्सबाट आएकी बागलुङकी एक महिलाको संक्रमण परीक्षणको लागि नमुना पठाइयो

150
धौलागिरी अञ्चल अस्पताल, बागलुङ

बागलुङ, १२ चैत ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा बागलुङबाट थप एक जनाको स्वाब परीक्षणको लागि पोखरा पठाईएको छ ।
बुधबार धौलागिरी अञ्चल अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बागलुङका डाक्टरहरुको समुहले उनको घाँटीको स्वाब निकालेर परीक्षणको लागि प्रदेशिक प्रयोगशाला पोखरा पठाएको अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमित १९ बर्षिय महिलासँगै गत चैत ५ गते फ्रान्सबाट कतारहुँदै बागलुङ आएकी बागलुङ नगरपालिका–४ की एक महिलालाई शंकाको आधारमा परीक्षणको लागि नमुना पठाइएको हो । उक्त नमुना प्रादेशिक प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने छ । बिहिबारसम्म उक्त नमुना परीक्षणका लागि सम्बन्धित ठाउँमा पुग्ने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
उनी मंगलबार अस्पतालको सम्पर्कमा आएपनि डाक्टरहरुको सुरक्षाको लागि पिपिई नभएपछि उनको स्वाब निकालिएको थिएन । उनी आफ्नै घरमा छुट्टै कोठामा (होम आईसोलेन) बसेकी छिन् ।
केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लगायतका समस्याबाट ग्रसित महिलालाई संक्रमण भएनभएको पुष्टि गर्न नमुना संकलन गरेर परीक्षणका लागि पठाईएको हो । उनी आएको विमानमा सवार महिलामा कोरोनाको संक्रमण देखिएकोले शंकाको आधारमा नमुना परिक्षणको लागि पठाईएको सूचना अधिकृत गौतमले बताउनुभयो ।
उनीसँगै आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी महिलाको भने स्वाब परीक्षणको पठाइएको छैन । उनमा अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएकोले नमुना परीक्षणको लागि नपठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले जानकारी दिनुभयो । प्रमुख गुरौका अनुसार विदेशबाट आएपनि उनमा अहिलेसम्म ज्वरो आउने, खोकी लाग्ने र स्वास्व फेर्न गाह्रो हुने कुनै लक्षण नदेखिएकोले स्वाब परीक्षण नगरिएको हो । उनलाई आफ्नै घरको छुट्टै कोठामा (होम आइसोलेसनमा) राखिएको छ ।
बागलुङबाट सोमबार एक जनाको नमुना परीक्षणको लागि पठाइएको छ । भारतको पटनाबाट घर आएका बागलुङ नगरपालिका–७ का एक जना पुरुषको स्वाब परीक्षणको लागि पठाइएको थियो । उनलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको रिपोर्ट आज (बुधबार) बेलुका सम्म आउने अस्पतालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here