
बागलुङ, २ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङले जिल्लाव्यापी तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियानको शनिबारदेखि शुभारम्भ गरेको छ ।
तीन महिने कार्यक्रमको शुभारम्भको अवसरमा विश्वमा महामारीको रुपमा फैलिरहको कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो ।
तीन महिने अभियानमा विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्ने उपाय तथा लक्षणहरुको विषयमा नेकपा बागलुङले पर्चा छपाएर आम सर्वसाधरणका लागि सचेतना फैलाउदै हिड्ने नेकपा जिल्ला कमिटिका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।
अभियानको शुभारम्भ गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावति शर्माले जिल्ला व्यापी अभियानले पार्टी र जनताबीचकोे समबन्धलाई अझै बढि सुदृढ गराउने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले ‘समृढ नेपाल सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ को नारालाई सार्थक पार्न अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको पहिलो दिन बागलुङ बजारमा तीन समुह बनाई सचेतना कार्यक्रम गरिएको छ । पहिलो समुहले ट्राफिकचोकदेखि गुठी, प्रशासन कार्यालय, नारायणचोक हुदै लालीगुराँचोक, दोस्रो समुहले पूरानो जिविस कार्यालय, हल्लनचोक, लोकतान्त्रिकचोक हुदै लालीगुराँशचोक र तेस्रो समुहले टेलिकमचोक, अस्पतालचोक, महेन्द्रपथ धौलागिरीचोक हुदै लालीगुराँशचोकमा घरदैलो गर्दै पर्चा वितरण गरी अभियानको वारेमा सर्वसाधारणलाई जानकारी गराएको थियो ।
अभियान अन्तरगत जिल्लाका सवै पालिका, वडा र टोलमा पुगेर यो कार्यक्रम सञ्चालन गरिने जिल्ला नेकपा सचिव ज्ञामनाथ गैरेले बताउनुभयो । अभियान सञ्चालन गर्न पालिकास्तरमा जिल्लास्तरिय नेताको संयोजकत्वमा र वडा र टोल स्तरमा त्यहीका पार्टी नेताको संयोजकत्वमा कार्यदल निर्माण गरिएको छ ।
सो कार्यदलले चैत ५ गतेभित्रमा पालिका र वडास्तरीय बैठक गरी कार्ययोजना निर्माण गर्ने, चैत २० गतेभित्रमा टोल कमिटी गठन र बैठक गर्ने तथा चैत महिनाभित्रमा एकिकृत पार्टीको सदस्य नविकरण गर्ने कार्यक्रम गर्ने छ । बैशाखमा एक महिने कार्यक्रमको समिक्षा सहित आगामी कार्ययोजना बनाउने सचिव गैरेको भनाई छ ।










