विप्लब समुहलाई प्रतिबन्धको एक वर्षः बागलुङमा ९ जनाले गरे आत्मसमर्पण

बागलुङ, २८ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीको गतिविधिमा नेपाल सरकारले प्रतिबनध लगाएको एक वर्ष पुरा भएको छ ।
गत वर्ष २०७५ फागुन २८ गते बसेको मन्त्रीपरिषद बैठकले विप्लव समुहले चन्दा आतंक बढाएको भन्दै उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले प्रतिबन्ध लगाएपछि सरकारले विप्लव समुहका नेता र कार्यकर्तालाई जहाँ भेट्यो त्यहि पक्राउ गर्न प्रहरीलाई आव्हान गरेपछि पक्राउ पर्ने क्रम जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हालसम्म विप्लव समुहका सामेल भएको आरोपमा १९ जना पक्राउ परेका छन् ।
उनीहरु मध्ये ९ जनाले जिल्ला प्रशासन कार्यालय बागलुङमा धरौटी तिरेर आत्मसमर्पण गर्दै रिहा भएका छन्भने अन्य १० जना जिल्ला अदालतको आदेशमा रिहा भएका छन् ।

विप्लव समुहमा आवद्ध भएको र अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये बागलुङ जिल्लाका ८ र तनहुँका १ जनाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्दै रिहा भएका हुन् ।
प्रशासनमा आत्मसमर्पण गरेका ९ जना घर फर्केर घरायशि काम गरिरहेपनि अदालतको आदेशमा रिहा भएका १० जनालाई अदालतबाट निस्के लगत्तै प्रहरी अन्य जिल्ला पु¥याएको छ ।

प्रतिबन्ध लगाएपछि पक्राउ परेका विप्लव समुहका कार्यकर्ताले बागलुङमा २०७६ भदौ महिनाबाट आत्मसमर्पण गर्ने क्रम सुरु भएको थियो ।

बागलुङमा भदौं २ गते ढोरपाटन नगरपालिका–१ का हरि बहादुर कुँवरले पार्टी परित्याग गरेको घोषणा गर्दै आत्मसमर्पण गरेका थिए । जिल्लामा पहिलो पटक विप्लव समुहको जिल्ला सदस्यको रहेको र पार्टीको प्रचार प्रसार गर्दै हिडेको आरोपमा साउन १८ गते बुर्तिबाङबाट पक्राउ परेका कुँवरले भदौ २ गते पार्टीमा समावेश नभएको भन्दै विज्ञप्ती जारी गरि आत्मसमर्पण गरेका हुन् । उनले जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी तिरेका छन् ।
यस्तै भदौ १९ गते बागलुङ बजारबाट पक्राउ परेका तनहुँ जिल्ला व्यास नगरपालिका १५ का अमृत सापकोटाले पनि पार्टी परित्याग गरेको विज्ञप्त प्रकाशित गर्दै असोज ५ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा १० हजार रुपैयाँ धरौटी तिरेर आत्मसमर्पण गरेपछि रिहा भएका छन् ।
असोज १३ गते बागलुङ बजारबाट पक्राउ परेका गल्कोट नगरपालिका–११ मजुवाका सुदर्शन नेपालीले कार्तिक १ गते आत्मसमर्पण गरेर धरौटीमा रिहा भएका छन । गल्कोट नगरकमिटिका सचिव रहेको आरोपमा पक्राउ परेका नेपालीले पार्टीको कुनै पदमा नगरेको भन्दै विज्ञप्ती निकालेर आत्मसमर्पण गर्दैै प्रशासनमा १० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
यस्तै काठेखोला गाउँपालिका–७ रेशका गोविन्द कार्की र ४ तंग्रामका नन्दराम थापाले मंसिर २२ गते जिल्ला प्रशासनमा आत्मसमर्पण गरि १०–१० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्भने पुस १४ गते गल्कोट नगरपालिका ४ का सहल बहादुर सुनारले पुस १४ गते आत्मसमर्पण गरि १० हजार रुपैयाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् ।
यस्तै विप्लव समुहको आरोपमा पक्राउ परेका बागलुङ नगरपालिका ४ का डिल्ली प्रसाद सापकोटाले माघ ८ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरि १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । यस्तै फागुन ८ गते बागलुङ नगरपालिका ७ का लाल बहादुर नेपालीले पनि जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरि ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
यस्तै फागुन १ गते घरबाटै पक्राउ परेका विप्लव समुहका बागलुङ नगरका इन्चार्ज काशिनाथ पौडेल (मुरारीले फागुन २३ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरि ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here