
बागलुङ, २३ फागुन ।
सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका बागलुङ नगर इन्चार्ज काशीनाथ पौडेल (मुरारी) ले जिल्ला प्रशासन कार्यालय बागलुङ समक्ष आत्मसमर्पण गर्नुभएको छ ।
२३ दिनदेखि हिरासतमा रहनुभएका पौडेलले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी प्रमुख एसपी नबराज भट्ट, लगायतका सुरक्षा निकाय प्रमुख, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरे, नगर कमिटी अध्यक्ष धनबहादुर परियार, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गर्नुभएको हो ।
पौडेल फागुन १ गते पक्राउ पर्नुभएको थियो । प्रशासन कार्यालयमा पौडेलले अब स्वतन्त्र नागरिकको हैसियतमा रहने बताउनुभयो । ‘विप्लव नेतृत्वको नेकपा परित्याग गरेको छु,’ पौडेलले भन्नुभयो, ‘अब विप्लवको कुनै पनि गतिविधिमा संलग्न हुने छैन, नेपालको संविधान र प्रचलित नियम कानुन पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

बागलुङ नगरपालिका–४ कँुडुले स्थायी घर भएका पौडेलले कुँडुलेमा कृषी कर्म गर्दै आउनुभएको छ । सरकारले विध्वसंकारी गतिविधिमा सम्लग्न रहेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि जिल्लामा प्रहरीले विप्लव नेता र तिनका गतिविधिमा निगरानी गर्दै आएको छ ।
पौडेलले जिल्ला प्रशासन कार्यालय बागलुङमा पाँच हजार रुपैयाँ धरौटी बुझाउनु भएको छ । उहाँलाई तारिकमा राखिएको प्रमुख जिल्ला अधिकारी सैजुले बताउनुभयो । संविधान र कानुनको पालन गर्नु सबैको दायित्व हो उहाँले भन्नुभयो–‘आत्मसमर्पण भए पनि निगरानी निरन्तर रहन्छ ।’
भिडियो










