नेकपा बागलुङले तीन महिने अभियान चलाउने

बागलुङ, २२ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले तीन महिने संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेकपा बागलुङको बिहिवार सम्पन्न बैठकले चैत १ गतेदेखि तीन महिने संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको हो ।
चैत १ गते सरसफाई सहित अभियानको शुरुवात हुने र अभियानमा प्रशिक्षण, पार्टीले गरेका कामको प्रचार प्रसार, संगठित सदस्यता नविकरण, साधारण सदस्यता बितरण, पार्टी प्रवेश, सवै कमिटिको भेला सहित गाउँ तहसम्म टोल कमिटि गठन, जनप्रतिनिधी र पार्टीका बिचमा योजना तर्जुमा गोष्ठी, पदयात्रा लगाएतका कार्यक्रम हुने जिल्ला कार्यालय सदस्य लालबहादुर थापाले जानकारी दिनुभयो ।
बैठकले संगठित सदस्यता नविकरणका लागि बानपामा लालबहादुर थापा, जैमिनिमा कृष्ण पाठक, बरेङमा फमलाल निउरे, काँठेखोलामा डिल्लीराज गौतम, ताराखोलामा पदम खत्री, गल्कोटमा ज्ञामनाथ गैरे, बडिगाडमा बिष्णु भुषाल, ढोरपाटनमा लक्ष्मण पुन, निसीमा कुविर बिक र तमानखोलामा उदिम छन्त्याल संयोजक रहेको ५/५ सदस्यीय कार्यदल गठन गरेको छ ।


बैठकले फागुन २७ र २८ गते १० वटै तहको पालिका स्तरको बैठक गर्ने निर्णय गर्नुका साथै ८५ सदस्यीय जिल्ला सल्लाहकार परिषद चयन गरेको छ । त्यसैगरि नेकपाको १ सय ४५ सदस्यीय जिल्ला समिति अन्तरगत रिक्त ४ सदस्यमा शेरमान घर्ती, नरेन्द्र छन्त्याल, झकबहादुर सुनार र ललित श्रीसलाई चयन गरेको थापाले बताउनुभयो ।
बैठकले भवन निर्माणका लागि पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाको संयोजकत्वमा भवन निर्माण समिति र साँसद देवेन्द्र पौडेलको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ । बैठकले बिषेश प्रस्तावको रुपमा कोरोना भाइरसवाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गर्नुका साथै प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।
सो अवसरमा प्रतिनिधी सभा साँसद मनकुमारी केसी, पार्टीका प्रदेश सचिव गोविन्द नेपाली र जिल्ला इन्चार्ज बलावती शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो । १० वटै तहका कमिटिवाट रिर्पोटिङ पनि गरिएको थियो । बैठक जिल्ला पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता र सचिव ज्ञामनाथ गैरे अनिलको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here