
बागलुङ, २२ फागुन ।
बगलुङ जिल्लाको गल्कोट नगरपालिका–५ हरिचौर टेउवामा फागुन ५ गतेदेखि सुरु भएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला बुधबार सम्पन्न भएको छ ।
गलकोट कला प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यशालामा ११ देशमा १५ मूर्तिकारले १५ ओटा आकर्षक मूर्ति तयार गर्दै मूर्ति कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले टेउवाको मूर्तिकला कार्यशाला प्रदेशको पर्यटकीय क्षेत्रको कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले नयाँ गन्तव्य निर्माण गर्न खोजिरहेको बेला गलकोटबासीको अथक मेहनेत र प्रयासका बीच आयोजित अन्र्तराष्टिय कार्यशालाले देशमै फरक पहिचान सहितको गन्तव्य निर्माण भएको बताउनुभयो ।

मन्त्री लम्सालले मूर्ति कार्यशालाको लागि गण्डकी प्रदेशले सहयोग गरेको जानकारी दिँदै अब डिपिआरमा सम्मेलित संग्राहलय निर्माणसँगै अन्य आवश्यकताहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागलुङको अग्लो धुरी घुम्टेको भेदमा रहेको टेउवामा सञ्चालित अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा घुम्टे पहाड, जल, जंगल, जमिन, गणेश, मानव सभ्यता, सहाशिक महिला, भगवान गौतम बुद्ध लगायतका १७ ओटा मूर्ति निर्माण गरिएका छन् ।
कार्यशाला अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालकै पहिलो मूर्तिकला कार्यशाला बनेको छ । नेपालमा अन्य स्थानमा पहिले पनि अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला भएपनि टेउवाको मूर्तिकला कार्यशालामा विश्वका २ सय जना मूर्तिकारले निवेदन दिएको र १० जना विभिन्न देशका मूर्तिकार र ५ जना नेपालका मूर्तिकारले भाग लिएका थिए । विश्वभरबाट मूर्तिकारहरु सहभागि भएको र यहाँ १२ करोड लगानीमा मूर्तिहरुसँगै संग्राहलय लगायतका पूर्वाधार निर्माण गर्ने डिपिआर भएकाले मूर्तिकारहरुको अन्तराष्ट्रिय संस्था ‘AIESM’ले मान्यता दिएको मूर्तिकार ओम खत्रीले जानकारी दिए । मान्यता प्राप्त प्रमाणपत्र समापन समारोहमा गलकोट कला प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो ।

गल्कोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सचिवालय सदस्य फर्मलाल न्यूरे र संचालन सचिव सुनमाया ढकाल र सहसचिव शेरबहादुर थापाले गर्नुभएको थियो ।










