
म्याग्दी, १९ फागुन ।
बेनी–जोमसोम सडकखण्डमा सोमबार साँझ सुख्खा पहिरो जाँदा एउटा स्काभेटर पुरिएर चालकको मृत्यु भएको छ । स्काभेटर पुरिँदा चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी निरीक्षक विनोद सुवेदीले बताए ।
सडकखण्डको थासाङ गाउँपालिका–४ घाँसामा उक्त निर्माण भइरहेको थियो । सोहि सडक निर्माणको क्रममा माथिबाट खसेको सुख्खा पहिरोले स्काभेटरसहित चालकलाई पुरेको प्रहरीले जनाएको छ । थप जानकारी आइनसकेको र उद्धारका लागि प्रहरी घटनास्थल तर्फ जाँदैछ ।

पहिरो खसिरहेकोले उद्धारमा कठिनाइ भएको सुवेदीले जानकारी दिए । पहिलो खस्दा घाइते भएका एक जनालाई उपचारको लागि लेते पठाइएको छ । सुख्खा पहिरो जाँदा सो सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ । पहिरोले पोखरादेखि जोमसोम जाँदै बसमा क्षति पुगेको छ ।










