बागलुङमा मनाइयो ३८ औं मगर दिवस

बागलुङ, १५ फागुन ।
नेपालमा बहुसंख्यक जनसंख्या रहेको मगर जातिले राज्यले उपेक्षा गरेको बागलुङमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।
३८ औं मगर दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले जातिय विविधतालाई नेपालको सौन्दर्यता भनिए पनि सरकारले त्यसलाई व्यवहारमा पक्षपात गरिरहेको आरोप लगाए । ‘अहिले पनि मगर समुदायको हक अधिकारका लागि राज्यले उदाशिनता देखाईरहेको छ,’ उनीहरुले भने,‘विगतमा जबरजस्त खोसिएका अधिकार प्रत्यायोजन गर्ने सन्दर्भमा कुनै छनक देखिदैन ।’


कार्यक्रममा बोल्दै नेपाल मगर संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष गणेश थापा मगरले मगरको हक अधिकार र पहिचानलाई राज्यले अझै आत्मसाथ गर्न नसकेको बताएका छन् । ‘देश अहिले संघियता संरचनामा त गयो तर सोंच भने एकात्मक नै देखिन्छ,’ उनले भने,‘अहिले पनि समानुपातिक सहभागिताका लागि हामीले आवाज उठाईरहेको छौं । सम्बन्धीत निकायले चासो देखाएको छैन ।’


राज्यका सबै निकायमा सबै जातजाति भाषाभाषि र वर्ग समुदायको समानुपातिक प्रतिनिधित्व नभएसम्म देशको समृद्धि कुरामा मात्रै सिमित हुने बताए । ‘हामीले राजनीतिक परिवर्तन ग¥यौं अव देशलाई समृद्धिको बाटोमा लैजाने त भनेका छौं,’ थापा भन्छन्,‘तर हाम्रा व्यवहारहरु अझै पनि पुरानै छन् । सबै जातजातिलाई समान सहभागिता गराउने कुरामा कन्जुस्याँई गर्दा सम्म देशले विकासको गति लिन सक्दैन ।’ क्रान्ति र परिवर्तनको नाममा नेपालमा राजनीतिक परिवर्तन भए पनि सामाजिक सांस्कृतिक रुपान्तरण हुन बाँकी रहेको उल्लेख गरे । ‘विगतमा जबरजस्ता हाम्रा भाषा लिपीहरु जलाईए, अहिले पनि त्यसको खोजी र संरक्षण हुन सकेको छैन,’उनले भने,‘राज्यका निकायहरुसंग अधिकारका लागि संघर्ष गर्दै हाम्रो कला संस्कृति र भेषभुषा र भाषा संस्कारलाई जोगाउन हामी आफै लाग्नुपर्नेछ ।’


कार्यक्रममा लाङ्घाली परिवारका संस्थापक महासचिव एवं धौलागिरि अञ्चल अस्पतालका विकास समिति अध्यक्ष केवि रानामगरले मगर हक अधिकारका कुरा गर्दा जातियताको आरोप लगाउनेहरु वर्षौं देखि एकल जातिय रुपमा राज्यको सुख सुविधा उपभोग गरिरहेको बताए ।


कार्यक्रममा काठेखोला गाउँपालिका—१ का अध्यक्ष खडक थापा, नेपाल मगर संघ बागलुङका सचिव श्यामबहादुर पुन, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु आले, मगर महिला संघ जिल्ला अध्यक्ष भविकला रोका मगर, नेपाल पत्रकार महा संघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष संगम घर्तीमगर लगायले शुभकामना मन्तव्य राखेका थिए ।


उक्त अवरमा विभीन्न प्रतियोगितात्मक कार्यक्रम पनि आयोजना गरिएको छ । म्युजिकल चियर प्रतियोगितामा निर्मला थापा मगर प्रथम, पार्वती थापा मगर द्वितीय र रिता राना मगर तृतीय भएका छन् । छेलो हान्ने प्रतियोगितामा बलबहादुर आले मगर प्रथम, बिमल घर्ती मगर द्वितीय र विश्वास पुन मगर तृतीय भएका छन् ।


कार्यक्रम नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापा मगरको अध्यक्षता, सल्लाहकार सुनमाया पुनको स्वागत र नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति बागलुङका सचिव डम्मर बुढा मगर र सह–सचिव मिना थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here