
बागलुङ, १० फागुन ।
बागलुङ नगरपालिका ११ रायडाँडाका स्थानियवासीले सहरी स्वास्थ्य क्लिकिनको स्थापना गर्न माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको जनतासंग जनप्रतिनिधी कार्यक्रम अन्तरगत शनिवार रायडाँडामा भएको कार्यक्रममा स्थानियवासीले प्रदेश साँसद र नगर प्रमुखसंग भुगोलको हिसावले वडामा शहरी स्वास्थ्य क्लिनिकको स्थापना गरिदिन माग गरेका हुन् ।
आम वडावासीलाई वडामा भएको स्वास्थ्यचौकी भुगोलको हिसावले पायक नभएको र बिरामी हुदा उपचारमा निकै कष्ट भोग्नु परेकाले शहरी स्वास्थ्य क्लिनिक स्थापनाको माग गरेका हुन् । स्थानियवासीले रायडाँडामा वाख्रापालनको राम्रो सम्भावना भएकाले पशुपालनका क्षेत्रमा, खेलमैदान व्यवस्थित नभएकाले खेल मैदानका क्षेत्रमा र खानेपानी सडक लगाएतका क्षेत्रमा बजेट बिनियोजन गरि नगरपालिकाको अनुभुती गर्ने बातावरण सिर्जना गरिदिन अनुरोध गरेका थिए ।
उठेका बिषयको जवाफ दिदै प्रदेश साँसद इन्द्रलाल सापकोटा र नगर प्रमुख जनकराज पौडेलले जनताका गुनासोलाई समधान गर्नका लागि आफ्नो क्षेत्रवाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने मान्यतालाई पुरा गर्नका लागि पनि प्रदेश र नगरका क्षेत्रवाट जनताका हक अधिकार स्थापित गर्नका लागि आवश्यक योजना निर्माण गरि काम गर्ने उहाँहरुले भनाई थियो । स्थानियवासी भिम गौतम, नविन केसी, नगेन्द्र केसी, कृष्ण थापा लगाएतले प्रश्न तथा गुनासो राख्नु भएको थियो ।
कार्यक्रमका बारेमा नेकपा नगर कमिटिका अध्यक्ष धनबहादुर परियारले जानकारी गराउनु भएको थियो । कार्यक्रम नेकपा वडा नम्वर ११ रायडाँडाका वडा अध्यक्ष ओम केसीको अध्यक्षता, वडा इन्चार्ज रेशम थापाको स्वागत र नगर सचिव इन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।










