
बागलुङ, १० फागनु ।
काठेखोला गाउँपालिका–५ विहुँमा आयोजना गरिएको राष्ट्रिय लोक भजन प्रतियोगितामा अमर मावि विहुँकोट प्रथम भएको छ ।
महाशिवरात्रीको अवसरमा शुक्रबार त्रिपुरेश्वर महादेव मन्दिर विहुँ (रामकोट)मा आयोजित प्रतियोगितामा अमर मावि विहुँकोट प्रथम, जैमिनी संस्कृतन समुह जैमिनी द्धितिय, कालिका भगवति बागलुङ तृतीय र लाम्खुङ भजन समुह विहुँ सान्त्वना भएका थिए । उनीहरुले क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा १५ टिमले नामदर्ता गराएपनि ७ टिमले मात्र सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका भौतिक योजना पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै मन्त्री बस्नेतले संस्कृति र सभ्यता हराउँदै गएकाले पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कृति र सभ्यता हस्तान्तरण गर्नुभएको थियो । उहाँले नेपालमा पश्चिमा संस्कृतिहरु विकास भइरहेको बताउँदै नेपालकै आफ्नो धर्म, संस्कृति, सभ्यता र धार्मिक सम्पदाहरुको पहिचान नहुनुन दुःखद रहेको बताउनुभयो । मन्त्री बस्नेतले धर्म संस्कृतिहरु संरक्षणमा सवै जागरुक भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटा, मणिभद्र शर्मा, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, स्थानिय नविन प्रसाद कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगिताका संयोजक ज्ञामनाथ कंडेलले हराउँदै गएको धार्मिक महत्वको प्रचार प्रसार र ओझेलमा परेको काठेखोलाको धार्मिकतिर्थस्थल रामकोटाको प्रचार प्रसारको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाल सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि पनि प्रतियोगिताले सहयोगी भुमिका खेलेको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका संचालक समिति उपाध्यक्ष गौरिशंकर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत काठेखोला गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिवप्रसाद कंडेलको स्वागत मन्तव्य र मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।










