७ महिनामा विदेशबाट ५ सय १३ शव आए

रमेश भारती
काठमाडाैं, ७ फागुन।
आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउन मसान्तयता कामको खोजीमा ३ लाख १ हजार ६ सय ८७ जना श्रमिक विदेशिएका छन् ।
यस्तै, यस अवधिमा रोजगारीको खोजीमा विभिन्न देश पुगेका ५ सय १३ जना श्रमिकले ज्यानसमेत गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
साउन महिनामा ३२ हजार ५ सय ५७ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । भदौमा ३९ हजार ८ सय ४७ जना, असोजमा १९ हजार ५ सय ४२ जना, कात्तिकमा ५१ हजार ५ सय जना, मंसिरमा ५६ हजार ८ सय १० जना वैदेशिक रोजगारीमा गएका छन् ।
पुस महिनामा ५२ हजार २ सय २५ जना र माघ महिनामा ४८ हजार ६ सय ७४ जना गरी ७ महिनाको अवधिमा ३ लाख १ हजार ६ सय ८७ जना श्रमिक काम खोजीमा विभिन्न देश पुगेको विभागले जनाएको छ । यस अवधिमा करिब ५० हजार महिलासमेत वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा २ लाख ९० हजार युवा रोजगारीको खोजीमा विदेशिएका थिए । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १२ हजार बढी श्रमिक रोजगारीको खोजीमा विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ५ लाख ८ हजार नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए ।
चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा मलेसिया, साउदी, यूएई र कतार धेरै श्रमिकको रोजाइमा परेको देखिएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रकिका हकमा संस्थागत र (रिइन्ट्री) व्यक्तिगत श्रम स्वीकृति जारी गर्दै आएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सीप र दक्षताका आधारमा श्रम स्वीकृति जारी गर्ने योजना बनाएको विभागका सूचना अधिकारी भोला गुरागाईंले बताए । देशभित्र रोजगारीका अवसर सिर्जना भए पनि नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको उनको भनाइ छ ।
मलेसियामा मात्र १ सय ४० ले ज्यान गुमाए
चालू आर्थिक वर्षको ७ महिनामा ५ सय १३ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । यस अवधिमा सबैभन्दा धेरै मलेसिया गएका नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डको तथ्याङ्कमा छ । मलेसियामा १ सय ३९ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।
यस्तै, साउदीमा १ सय १८ जना पुरुष र २ महिला गरी १ सय २० जना, कतारमा ८४ पुरुष र २ महिला गरी ८६ जना, युएईमा ७६ पुरुष र ४ महिला गरी ८० जना, कुवेतमा २३ जना पुरुष र २ जना महिला गरी २५ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा छ ।
यसैगरी जापानमा ६ जना, पोल्याण्डमा ३ जना, अफगानिस्तानमा २ जना, ओमानमा ३ जना, पोर्चुगल १ जना, जोर्डनमा १ जना, दक्षिण कोरियामा ९ जना, टर्कीमा १ जना, बहराइनमा ४ जना पुरुष २ जना महिला गरी ६ जना, इजरायलमा १ जना, मल्दिभ्समा २ जना, साइप्रसमा १ जना महिला, सिसेल्समा १ जना गरी ५ सय १३ जना रोजगारीका क्रममा ज्यान गुमाएर शव नेपाल ल्याएको बोर्डले जानकारी दिएको छ ।
बोर्डकै तथ्याङ्कलाई आधार मान्ने हो भने पनि औसतमा दैनिक रोजगारीमा गएका ३ जना नेपालीका शव नेपाल आउने गरेको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर अन्त्य गर्ने अध्ययन गरिरहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताएका छन् । वैदेशिक रोजगारीका क्रममा यसरी भइहेको मृत्युले सरकारलाई पनि गम्भीर बनाइरहेको सूचना अधिकारी सुवेदीको बताए ।
‘सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा मृत्युदर रोक्न अभिमुखीकरण तालिमको दायरा बढाउन लागेको छ । अभिमुखीरकण तालिमले केही मात्रामा विदेशीमा भइरहेको श्रमिकको मृत्युदर रोकिन्छ’, उनले भने, ‘देशको भाषा, हावापानी, सडक दुर्घटना र अन्य कारणले विदेशीमा नेपाली श्रमिकको मृत्यु भइरहेको छ । यो समस्याका कारण सरकारले खोजीरहेको छ ।’
गत आर्थिक वर्षमा ७ सय ५३ जना श्रमिकले विदेशीमा ज्यान गुमाएको बोर्डको तथ्याङ्कमा छ ।

शिलापत्र अनलाईनबाट साभार ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here