
मोरङ, ७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोगबनी–विराटनगरमा रहेको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।
दुवै देशका प्रधानमन्त्रीले मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको आईसीपीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने भएका हुन् । विहान ११ बजे नेपालका प्रधानमन्त्री केपि ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा आईसीपीको उद्धघाटन गर्ने संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले बताए ।
आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा भवन, पार्किङस्थल, जाँच पोष्ट सहितका संरचनाहरु निर्माण गरेको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माण गरिएको छभने लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर र दक्षिणी राजमार्गसँग जोडिएको छ ।
आईसीपी आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका–१८ मा निर्माण गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो । दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।










