काठमाडौं, १ माघ
२०७७ सालको दशैं टिका कार्तिक १० गते पुगेको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैं र तिहार झण्डै एक महिना पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मलमास नपरेको बेलामा दशैं सामान्यता असोज पहिलो हप्ताबाट सुरु हुने गरेपनि यस वर्ष मलमासको कारण एक महिना पछाडी धकेलिएको हो ।
समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले आउँदो वर्ष कात्तिक १ गते घटस्थापना, ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजयादशी परेको बताउनुभयो ।
यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिनु भयो ।
उहाँले मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको बताउनुभयो ।










