उपचुनावः बागलुङ २ (ख)मा दुई स्वतन्त्र सहित १० जनाको उम्मेदवारी

बागलुङ, २१ कार्तिक ।
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख)मा दुई स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ¥याली सहित पुगेका १० राजनैतिक दल र २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश (ख)को उपचुनावको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार वि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनका मित्रबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्र सन्तोष भण्डारी र शेरमान घर्ति मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार भण्डारीलाई विवेकशिल नेपाली दलले समर्थन गरेको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्ति मगर राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका खिमबिक्रम शाहीको बागि उम्मेदवारको रुपमा उठेका हुन् । सत्ताधारी नेपाल कम्प्युनिष्ट पार्टी (ने क पा)ले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेपछि घर्तिले बागि उम्मेदवारी दिएका हुन् ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर, घर्तीको निधन भएकाले १४ मंसिरमा उपनिर्वाचन हुन लागेको हो ।
बागलुङ २ ‘ख’ मा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जित बहादुर शेरचन नै यस पटक पनि कांग्रेसबाट उम्मेदवारी दिएका छन् । उनी राजमोका टेकबहादुर घर्तीसँग तीन हजार मत अन्तरले पराजित भएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here