
बागलुङ, १९ कार्तिक ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले उमेदवारको टुँगो लगाएको छ । बागलुङ निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख)बाट राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य खिम विक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले बागलुङ निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेपछि जनमोर्चाले आफ्नो उम्मेदवार टुंगाएको हो । यससँगै जनमोर्चाका शाही बामगठबन्धनका साझा उमेदवार बन्नुभएको छ ।
केन्द्र, प्रदेश र स्थानीय तह समेतका आगामी उप—निर्वाचनहरूमा नेकपा (नेकपा) सित चुनावी तालमेल गर्ने सहमति भएको भन्दै पार्टिले उमेदवार टुँगो लगाएको राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले आज एक वक्तव्य मार्फत जानाकारी दिनुभएको छ ।
वक्तव्य अनुसार वागलुङको निर्वाचन क्षेत्र २ को प्रदेश सभा (ख) र प्युठानको ऐरावति गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्ष पदका हाम्रा उम्मेदवारहरूलाई नेकपाले समर्थन गर्ने समझदारी भएको उल्लेख छ । अन्यत्र सबै ठाउँमा राष्ट्रिय जनमोर्चाले नेकपाका उमेदवारहरुलाई समर्थन गर्ने समझदारी भएको भनिएको छ ।
वाग्लुङको निर्वाचन क्षेत्र नं. २ को प्रदेश (ख) को लागि खिमविक्रम शाही, धर्मबहादुर कुवँर र स्वर्गिय टेकबहादुर घर्तिकी धर्मपत्नी सुनमायाँ घर्तिको नाम जिल्ला कमिटिले केन्द्रमा सिफारिस गरेको थियो । यस अघि नै शाहीको उमेदवारी चर्चा भए अनुसार केन्द्रले उमेदवार पक्का गरेको छ ।
उता प्युठानको ऐरावति गाउँपालिकाको २ नं. वडा अध्यक्षको लागि भक्त बहादुर विकलाई उम्मेदवार बनाउने प्युठान जिल्लाको निर्णयलाई राष्ट्रिय जनमोर्चाको केन्द्रले अनुमोदन गरेको केसीद्धारा जारि वक्तव्यमा उल्लेख गरिएको छ ।










