उपचुनावः बागलुङ २ (ख)मा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय

बागलुङ, १७ कार्तिक ।
आगामि मंसिर १४ गते हुन लागेको उपचुनावमा बागलुङ क्षेत्र नम्बर २ ‘ख’मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने भएको छ ।
नेकपा सचिवालयको आईतबार काठमाडौंमा बसेको बैठकले बागलुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु भएपछि रिक्त रहेको उक्त पदमा उपचुनाव हुन लागेको हो ।
यस अगाडीको निर्वाचनमा तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेको घर्ती विजयी भएका थिए । उक्त निर्वाचनको तालमेललाई निरन्तरता दिने भन्दै नेकपाले यस पटकको उपचुनावमा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।
भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निवाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।
यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपनिर्वाचन हुने ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एकको नाम सचिवालय बैठकले टुङ्गो लगाए पनि गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ जनाको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटिलाई दिएको छ ।
मंसिर १४ गते विभिन्न ५२ पदको लागि उपनिर्वाचन हुदैछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here