धौलागिरी च्याम्पियनसिप क्रिकेटको उपाधि आयोजकलाई

अर्जुन कार्की
बागलुङ, १० चैत ।
धौलागरी क्रिकेट क्लबले आयोजना गरेको प्रथम धौलागिरी च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा पाङ क्रिकेट क्लबलाई ६६ रनले पराजित गर्दै आयोजक धौलागिरी क्रिकेट क्लबले उपाधि चुमेको हो ।


१ सय ६५ रनको लक्ष्य पछ्याएको पाङले १८.१ ओभरमा अल आउट हुँदै ९८ रनमा समेटियो । उसका लागि विष्णु सुवेदीले २१, परशुराम सुवेदीले २० र ईश्वर रेग्मीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक व्याटिङ्ग गरेनन् ।
धौलागिरीका लागि सन्देश खड्का र तेजेन्द्र घर्तिले समान २–२ र अभिनास सिंह, राजु थापा, गणेश केसी र सन्देश छन्त्यालले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला पहिला ब्याटिङ गरेको धौलागिरीले पुरैओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो ।
धौलागिरीको लागि कप्तान दिपक कुँवरले ३४, पासिङ पुनले २८ र विजय विकले २५ रन बनाएका थिए । यस्तै पाङका हरि रिजालले ३ विकेट हात पारे ।


प्रतियोगिताको विजेता आयोजकले ३५ हजार रुपैयाँ हात पा¥योभने उपविजेतामा चित्त बुझाएको पाङले १५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाङ क्रिकेट क्लबका कप्तान कमल रिजाल, उत्कृष्ट व्याट्सम्यान धौलागिरी क्रिकेट क्लबका किसान खड्का र उत्कृष्ट बलर सन्देश खड्का भएका थिए । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले पुरस्कार वितरण गर्नुभएको थियो ।पुरस्कार वितरणपछि बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङा अध्यक्ष परियालले क्लबहरुले आयोजना गर्ने प्रतियोगिताबाट पनि नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नेपालमा क्रिकेट खेल प्रति खेलाडीहरुको बढ्दो रुचि भएकाले जिल्लामा क्रिकेटको लागि खेलमैदान निर्माणको काम अगाडी बढेको बताउनुभयो ।
उक्त अवसरमा क्रिकेट विकास समिति बागलुङका अध्यक्ष विष्णु आचार्य र प्रतियोगिताको मुख्य प्रायोजक क्यापिटल एब्रोड स्टडी सेन्टर पोखराका प्रबन्धक विक्रम सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
धौलागिरी क्रिकेट क्लबका उपाध्यक्ष रामु खड्काको अध्यक्षतामा सम्पन्न पुरस्कार समारोहको संचालन रोशन कुँवरले गर्नुभएको थियो ।