
बागलुङ, १० चैत ।
बागलुङ नगरपालिका वडा नम्बर ७ छरिखोलामा आइतबार बिहान एक घर र गोठमा आगलागी भएको छ । बिहान ३ बजेको समयमा सोही ठाउँका नवराज गौतमको घरगोठमा आगलागी भएपछि गोठ पूर्ण रुपमा जलेको छ, भने घरको आधा भाग जलेको छ ।
आगलागीबाट ७ लाख ५० हजार रुपैयाँको क्षती भएको वडासचिव महेन्द्र घमालले जानकारी दिए । आगलागीले गोठमा रहेको एउटा खसी जलेर मृत्यु भएको छ भने २ भैंसी र १ बाख्रालाई चोट लागेको स्थानीय याम निउरेले जानकारी दिए । बिहान एक्कासि आगलागी भएपछि घरमुलीले स्थानीयबासीलई खबर गरेका थिए ।
सबै स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको बताइएको छ । आगोलागी पीडित परिवारको आर्थिक अवस्था पनि कमजोर भएको हुँदा स्थानीय तहले राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।
आगो कसले वा के कारणले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।










