पञ्चकोट गोल्डकप फुटबलः बानपा–३ र ४ विजयी

रबिना बोहरा
बागलुङ, ७ चैत ।
बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद विकास समिति बानपा–६ पञ्चकोटले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन २ खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ नगरपालिका ३ भलाटाकुरा र दोस्रो खेलमा बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बानपा–३ भलाटाकुराले आयोजक बीलाई २–१ गोलअन्तरले पराजित गरेको थियोभने दोस्रो खेलमा बानपा–४ उपल्लाचौरले बागलुङ नगरपालिका–२ लाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
बानपा–४ को जितको लागि नारायण कुँवर र फरिन पुनले १–१ गोल गरेका थिएभने बानपा– २ को लागि ऋषिले एक गोल गरेका थिए ।


प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले समस्याका बाबजुद पनि राज्यले युवाहरुलाई खेल क्षेत्रमा अगाडी बढाउन पहल गरिरहेको भन्दै आगामी दिनमा कमी कमजोरीहरुलाई हटाउदैँ खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाले नेपालमा अझै पनि खेल क्षेत्रमा लाग्ने प्रयाप्त वातावरण बन्न नसकेको भन्दै गाउँगाउँमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग गर्ने बताउनुभयो । खेलको महत्व सबैले बुझेकाले शारिरिक तथा मानसिक स्फुर्तिका लागि खेल क्षेत्र भएको भन्दै राष्ट्र निर्माणको लागि यस क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले खेलाडीको उत्पादन मात्र नभएर संरक्षण गर्नुपनि उत्तिकै चुनौती रहेको बताएका थिए ।
बागलुङमा खेल क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक खेलमैदान र प्रशिक्षकको अभाव हुने भएकाले यसको समाधान लागि आवश्यक पहल गर्नुपर्ने बताएका थिए । सो अवसरमा प्रतियोगिता सञ्चालनका लागि रोजगारका लागि अमेरिकामा रहेका व्यक्तिहरुबाट ५४ हजार र भान्सा सेवा समाज जापानले ४० हजार रुपैँया सहयोग गरेको थियो । कार्यक्रममा बागलुङ नगरपालिका–६ का अध्यक्ष खेमराज सापकोटा, बानपा–५ का अध्यक्ष शिव सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष विदुर सुवेदीको अध्यक्षता, कृष्ण सापकोटाको स्वागत र अनिल सुनामको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो खेल बानपा–३ गुठी र बानपा–३ काभ्रे बिच हुने आयोजकले बताएको छ ।
यही चैत ९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बागलुङ नगरपालिकाका १४ वटा वडाका १५ समुहले सहभागिता जनाएका छन् ।