अन्तराष्ट्रिय श्रमिक महिला दिवसः बजारमा र्यालीसहित दिवस मनाउँदा श्रमिक महिला अनविज्ञ

अर्जुन कार्की
बागलुङ, १६ फागुन ।
आज मार्च ८ अर्थात १ सय ९ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस । दिवसको अवसरमा करोडौंका बजेट खर्च गरी देशभर तामझामका साथ अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भए । बागलुङमा पनि बागलुङ नगरपालिकाको आयोजनामा एश्वर्य पार्कमा भएको कार्यक्रममा केही महिला भाषाण ठोक्दै थिए ।


यता बागलुङ नगरपालिकाको डम्पिङ साइट र कालिगण्डकी नदिको बगरका श्रमिक महिलाहरुलाई भने फोहोर र बालुवा चाल्दैमा फुर्सद थिएन ।
विहानैदेखि आफ्नै सुरले डम्पिङ साइटको फोहोर चाल्दै र कालिगण्डकी नदिमा बालुवा चाल्दै गरेका महिला श्रमिकहरुलाई आज अन्तराष्ट्रिय महिला श्रमिक दिवस हो भनेर थाहै रहेन्छ । उनीहरु जे दिवस आएपनि आफुहरुले काम नगरेपछि विहान बेलुकाको छाक टार्न गाह्रो हुने बताईरहेका थिए ।


बागलुङ बजारको डम्पिङ साइटमा फोहोरहरु चाल्दै गरेकी बागलुङ नगरपालिका वडा नं. १ की माया लामाले विहानै देखि आफुलाई आज अन्तराष्ट्रिय महिला श्रमिक दिवस भएको थाहा नभएको बताउनुभयो ।


१५ वर्ष अगाडी मासिक १२ सय रुपैयाँ ज्यालाबाट काम सुरु गर्नुभएको लामाले अहिले मासिक ८ हजार रुपैयाँ ज्याला रहेको बताउनुभयो । उहाँले मासिक ८ हजार रुपैयाँ ज्याला आएपनि फोहोरमा काम गर्दा धेरै विरामी परिने र औषधि गर्न समेत अपुग्ने हुने बताउनुभयो । फोहोरमा सिसा, सिरिन्ज, फलामहरु समेत हुँदा काम गर्न धेरै गाह्रो हुन्छ लामाले भन्नुभयो मासिक ८ हजार रुपैयाँ ज्याला त छ तर त्यसले औषधि उपचार गर्नेकी विहान बेलुका खाना खाने ?


श्रीमानको ८ वर्ष अगाडी ज्यान गएपछि २ सन्तानलाई हुर्काउने जिम्मेवारी उनको एक्लो काँधमा छ । त्यसैले न त उनले बर्खा भन्न पाउँछिन् न त गर्मी नै ।
असिनपसिन अनुहारमा लामाले भन्नुभयो श्रीमान वितेको ८ वर्ष भयो त्यससमयपछि २ छोरीहरु हुर्काउने बाध्यता पनि छ काम नगरे के गर्नु ? लामासँगै १ वर्ष अगाडीदेखि जेठी छोरीले सँगै डम्पिङ साइटमा प्लाष्टिकहरु चाल्ने काम गर्छिन् ।


डम्पिङ साइटमा कपडा, कागजहरु संकलन गरेर बेच्ने गरेको बताईन । उनले यस्तो काम गर्दा आफ्नो जीवन प्रति धिकार लाग्ने गरेको बताउनुभयो । आफ्नो साथीहरुले राम्रो राम्रो भएर हिड्ने गर्दा आफुहरु उनीहरुको आडमै जान नसक्ने बताईन । फोहोरमा काम गर्दा सिरिन्ज, सिसाहरु हुँदा काम गर्ने गाह्रो हुने बताउँदै धेरै विरामी भइने बताउनुभयो ।


यस्तै शुक्रबार दिउँसो कालिगण्डकी नदीको बगरमा ६८ वर्षिय हरिकला माझी पनि गिट्टी कुट्दै थिइन् ।
श्रीमानको मृत्युपछि दुई छोराहरु छुटिएर बसेपछि अहिले माझी आफ्नै विधुवा छोरीलाई ल्याएरसँगै बस्छिन् । छोरी पनि विरामी भएकाले आफ्नै काम नगरे विहान बेलुका खान गाह्रो पर्ने भएकाले ८ वर्षदेखि गिट्टी कुट्न थालेको माझीले बताउनुभयो ।


झण्डै ७/८ बर्ष पहिले एक ट्याक्टर गिटी कुट्दा ७ सय रुपैँया दिने उनी सम्झिन्छिन् । अहिले बढेर ४ हजार रुपैँया पुगेको छ । एक ट्याक्टर गिटि बनाउन उनलाई २० दिन बढी लाग्छ । दिनभरी काम गरेर कमाएको पैसाले घर खर्च गर्ने उनी कहिले काँही भोकै सुतेको अनुभव पनि सुनाउछिन् । उनी जस्ता हजारौँ महिलाको दैनिकि र बाध्यता यस्तै छ ।
सुकुम्बासी जग्गामा बस्दै आएकी माझीले कमाएको पैसा नुनतेलका लागि मात्र पुग्छ । बिरामी हुँदा समेत उपचारका लागि पैसा नहुँदा घरमै थलिएर बस्नुपर्ने अवस्था रहेको उनी बताउछिन् ।