
अर्जुन कार्की
बागलुङ, २४ फागुन ।
जापानमा हुन गईरहेको यु–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताका खेल्न जान लागेका बागलुङका विविध थापालाई शुक्रबार विदाई गरिएको छ ।
कास्की जिल्ला फुटबल संघको संयोजन र जापानको फन रुट्स एकेडेमीको सहकार्यमा जापानमा हुने प्रतियोगितामा नेपालबाट १२ वर्षसम्मका बालबालिकाले सहभागिता जनाउँदै छ ।

प्रतियोगिताको लागि कास्की जिल्ला फुटबल संघले यस अगाडी नै गण्डकी प्रदेशका ७ जनासहित देशभरीबाट १२ वर्षसम्मका १२ जना खेलाडीहरु छनौट गरिसकेको छ ।
शनिबारदेखि १४ दिनसम्म पोखरामा हुने ट्रेनिङमा जान लागेका थापालाई एन्फा बागलुङले खेल सामाग्रि सहित विदाई गरेको हो । थापा सहितको टिमले पोखरामा १४ दिनसम्म टे«निङ पछि प्रतियोगिताको लागि जापान प्रस्थान गर्नेछ ।

उक्त प्रतियोगिताको लागि बागलुङबाट पहिलो पटक सहभागिता जनाउन लागेका थापालाई शुभकामना दिदै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्रतियोगितामा उत्कृष्ट खेलप्रस्तुत गर्दै देशको नाम सहित जिल्लाको नाम चम्काउन शुभकामना दिनुभयो । नगरप्रमुख पौडेलले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

विदाई कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले जापानमा हुने यु–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा बागलुङका खेलाडीले सहभागिता जनाउनु गौरवको कुरा भएकाले खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्न सुझाव दिनुभयो । उहाँले जिल्लामा अहिले फुटबल प्रति खेलाडीहरुको लगाव बढेको बताउँदै जिल्लाबाट उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने क्रम जारी रहेको बताउनुभयो । अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा अहिले जिल्लाको टिमले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै जिल्लाको फुटबलको विकासको लागि सरकारी निकायले अझै सहयोग गरेका चाडै राष्ट्रिय टिममा नेपाली खेलाडीको सहभागिता देख्न सकिने बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नविन शिशिर विकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोभने जिल्ला फुटबल संघका उपाध्यक्ष रेशम गोतामेको स्वागत मन्तव्य र महासचिव जय राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

जापानमा हुन गईरहेको यु–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा ४० देशका ४० टिमले सहभागिता जनाउनेछन् । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अस्ट्रेलिया, दक्षिण कोरिया, चीन, ताइवान, घाना लगायतका देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टिमः
नेपालको टिममा गण्डकी प्रदेशका कास्की हेम्जाका सफल थापा, बागलुङका विविध थापा, स्याङ्जाका विशाल वि.क. र आर्यान गुरुङ, म्याग्दीका विज्ञ गौचन, कास्की ढिकुरपोखरीका सविन नेपाली र गोरखाका प्रकाश तामाङ रहेका छन्भने मकवानपुरका विनय तामाङ, काठमाडौंका एलेक्स पौडेल र विश्वास ओझा, रुपन्देहीका सरोज दर्लामी र अर्घखाँचीका समिर गौतम रहेका छन् ।
टोलीको टिम प्रशिक्षकमा राजेन्द्र तामाङ रहेको कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
को हुन विविध थापा ?
बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा २०६४ सालमा जन्मेका विविध थापा जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष विकास थापा र सदस्य रुविना थापाका जेठा छोरा हुन् । फुटबलको छत्रछाँयाबाटै हुर्केका थापा बालपनबाट फुटबलमै रम्दै आए ।

चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुल बागलुङको कक्षा ७ मा अध्ययनरत थापा खेलकुदका साथै पढाईमा समेत उत्कृष्ट रहेको विद्यालयका शिक्षक भानु आचार्यले बताए । शिक्षक आचार्यले विविध पढाईको साथै खेलकुदको क्षेत्रमा समेत उत्कृष्ट र अनुशासित विद्यार्थी रहेको बताए ।
आफ्नो समयमा उत्कृष्ट खेलाडी समेत रहेका विकास थापाले छोराले फुटबलमा आफ्नो भविश्य बनाउने योजना बनाउँदा साथ दिइरहेको बताए । उनले स्कुल स्तरको खेल खेल्न काठमाडौंसम्म गएको बताउँदै देशबाट आफ्नो सपना पुरा नभएपनि छोराले पुरा गर्नेमा आशावादी रहेको बताए । थापाले छोरालाई नेपालको राष्ट्रिय टिमबाट खेलेको हेर्ने चाहना रहेको बताउँदै फुटबलमा सदैव लागि रहने बताए ।
विविध थापाले आफु साने उमेरबाट फुटबलको बारेमा जान्ने अवसर मिलेकाले अगाडी बढ्न सहज भएको बताए । जापानमा हुने प्रतियोगितामा आफुले खेल्ने अवसर पाएकोमा खुसी लागेको बताउँदै थापाले आफुले सक्दो खेल प्रस्तुत गर्ने बताए । ‘यो मेरो पहिलो अवसर हो,’ थापाले भने–‘अवसरलाई सदुपयोग गर्दै अगाडी बढ्ने छु ।’ डिफेन्सको भुमिकामा खेल्ने थापा खेलको अवस्था अनुशार अट्याक्ङि डिफेन्सको भुमिकामा समेत खेल्न सक्छन् । थापाले नेपालको राष्ट्रिय टिमबाट खेल्ने सपना रहेको बताउँदै त्यसको लागि सदैव प्रयासरत रहने बताए ।










