
बागलुङ, २३ फागुन ।
बागलुङ बजारबाट प्रकाशित हुदै आएको धौलागिरि जागरण दैनिक पत्रिकाको १२ औं वार्षिकोत्सव जैमिनी नगरपालिका वडा नं. १ कुश्मिसेरा बजारमा बिहीवार सम्पन्न भएको छ ।
साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी, आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकको वार्षिकोत्सव जिल्ला सदरमुकाम बाहिर मनाउने संस्थाको निर्णय अनुसार हरेक वर्ष विभिन्न स्थानमा मनाउने गरिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय स्तरमा रहेका समाचार सामग्रीहरुलाई बाहिर ल्याउन, स्थानीय तहलाई जिम्मेवार बनाउन तथा सबै ठाउँका जनतासंगको सामिप्यताका लागि ठाउँ ठाउँमा वार्षिकोत्सव मनाउने गरिएको पत्रिकाका सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
जैमिनि नगरपालिकाको सदरमुकाम कुश्मिसेरा बजारमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताहरुले राज्यले लिएको समृद्धिको अभियानलाई सफल पार्नका लागि सञ्चार क्षेत्रको साथ र सहयोग अनिवार्य रहेको बताएका थिए ।
राज्यका विभिन्न तहसंगै अन्य क्षेत्रले गरेका राम्रा कुराहरुको प्रवद्र्धन र कमजोरी सच्याउनका लागि सचेत बनाउने काम सबै भन्दा प्रभावकारी रुपमा सञ्चारमाध्यमले गर्ने भएकाले सञ्चारमाध्यम र सञ्चारकमीहरु विकासका साझेदारका रुपमा रहनु पर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले यथास्थितिबाट बाहिर निस्केर अग्रगामी समाज निर्माणका लागि आम जनतामा सचेतना प्रदान गर्न सञ्चारमाध्यमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले जैमिनी नगरपालिकाले कृषि, पशुपालन, पर्यटनमार्फत आर्थिक विकास गर्ने लक्ष्य लिएकोले सञ्चारक्षेत्रसंग सहकार्य गरेर लक्ष्य प्राप्तिमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा जैमिनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, नगर कार्यपालिका सदस्य तथा दलित आयोगका पूर्व सदस्य लालबहादुर परियार, नेपाल कम्युनिष्ट पार्टी जैमिनी नगरपालिका कार्यदलका सदस्य रुद्रप्रसाद आचार्य, नेपाली कांग्रेस जैमिनीका सभापति काशीराम आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूणेन्द्र सापकोटा, शान्तिदिप बहुमुखी क्याम्पसका प्रमुख झमनबहादुर थापा, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, नेपाल राष्ट्रिय शिक्षक महासंघ बागलुङका उपाध्यक्ष शिलशिला केसी, बजार व्यवस्थापन समिति कुश्मिसेराका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीस, सुभेच्छा एफएमका स्टेशन म्यानेजर सन्ध्या आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वार्षिकोत्सव कार्यक्रम पत्रिकाको प्रकाशक संस्था आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) को अध्यक्षता, संस्थाका सञ्चालक शान्ति श्रेष्ठको स्वागत र पत्रिकाका सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा सम्पादक जिसीले आदर्श सञ्चार सहकारीको परिचय सहित वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा प्रस्तुती गर्नु भएको थियो । २०६३ साल मंसिर २७ गते स्थापना भएको आदर्श सञ्चार सहकारी संस्थाले सोही वर्ष फागुन २३ गतेदेखि धौलागिरि जागरण पत्रिका प्रकाशन शुभारम्भ गरेको थियो । शुरुमा अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको पत्रिका २०६५ जेठ १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुदै आएको छ । २०६८ साउनदेखि धौलागिरि जागरण दैनिकको सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक पनि प्रकाशित हुदै आएको छ । प्रेस काउन्सिलको पछिल्लो वर्गिकरणमा सहकारी मार्फत प्रकाशित धौलागिरि जागरण दैनिक (क) वर्गमा र अग्रसर साप्ताहिक (ग) वर्गमा परेको जनाइएको छ ।
३२ जनाको ३ लाख २० हजार रुपैया संकलन गरी शुरुवात गरिएको संस्थामा हाल १३ सय शेयर सदस्य, ३ करोड शेयर पूँजि, १३ करोड निक्षेप, १५ करोड कर्जा लगानी र १७ करोड बराबरको कूल पूँजि रहेको सम्पादक जिसीले सो अवसरमा जानकारी दिनुभयो ।
सूचना र सञ्चारसंगै वचत तथा ऋण सहित सामाजिक क्रियाकलापमा संलग्न आदर्श सञ्चार सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गरी प्रदेश स्तरीय बनाउने कार्ययोजना अनुसार प्रक्रिया अगाडि बढेको जनाइएको छ ।










