गण्डकी प्रदेशस्तरिय फुटबल प्रतियोगितामा बागलुङको विजयी सुरुवात

बागलुङ, १९ फागुन
प्रदेश नं. ५ मा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेशस्तरिय छनौट पुरुष फुटबल प्रतियोगितामा बागलुङले विजयी सुरुवात गरेको छ ।
पोखरामा आईतबारदेखि सुरु भएको प्रतियोगतामा बागलुङले पहिलो खेलमा नवलपुरलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
सुरुवातदेखि आक्रमक रुपमा खेलेको बागलुङको लागि खेलको १५ औं मिनेटमा विपिन महतले गोल गरेका थिए । उक्त खेल अवधिभर दुवै टिमले कुनै गोल नगरेपछि महतको गोल नै निर्णय सावित भयो ।
यस्तै आईतबारनै भएका खेलहरुमा तनहुँले म्याग्दीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । जसमा तनहुुँका बिकाश श्रेष्ठले ह्याट्रिक गरेका थिए । यता गोर्खाले मुस्ताङसंग कठिन जित निकाल्यो । गोर्खाले मुस्ताङलाई ५–४ ले पराजित गर्यो । गोर्खाको जितमा रुपेश थापा मगर नायक बने । उनले ह्याट्रिक पुरा गरे ।
त्यसैगरि पर्वतले लमजुङसंग ६–० गोल अन्तरले हार व्यहोरेको छ । लमजुङका लागि लिलजंग गुरुङले ह्याट्रिक गरेका थिए ।
छनोट फुटबलमा पुरुष तर्फ गण्डकी प्रदेशका ११ जिल्ला र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको छ ।
यस्तै प्रतियोगिताको दोस्रो दिन भोली (सोमबार) बागलुङले मनाङसँग प्रतिस्पर्धा गर्नेछ ।