
बागलुङ, ८ माघ ।
बागलुङ नगरपालिका–७ तितौरेमा रहेको तितौरे माविको ४४ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद सुर्य पाठकले अहिलेको शिक्षा व्यवहारिक हुनुपर्ने बताउनुभयो । उहाँले समुदायको गुणस्तर सुधार गर्नको लागि सरकार लागिपरिरहेको बताउनुभयो ।

कार्यक्रममा बानपा–७ का वडाअध्यक्ष खगराज पाण्डे, ६ का अध्यक्ष शिव सापकोटा, विश्वकर्मा माविका प्रधानाध्यापक योगेन्द्र खनाल, तितौरे सामुदायिक वन उपभोक्ता समितिका अधयक्ष बुद्धिबहादुर कार्की, सदस्य केशव कार्की र विद्यालयका पूर्वअधयक्ष लक्ष्मी बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको संस्थाहरु विचको हाजिरीजवाफ प्रतियोगितामा काठेखोला गाउँपालिका–२ भीमापोखराको गुहेली सञ्चार सहकारी प्रथम, बानपा–७ को जनजागरण सामुदायिक विकास संस्था द्धितिय र तारापानी सामुदायिक विकास संस्था तृतीय भएका थिए । हाजिरीजवाफ प्रतियोगितामा ९ संस्थाको सहभागिता रहेको थियो ।

यस्तै अन्तर मावि छात्र भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका–२ भीमापोखराको जनकल्याण मावि प्रथम, बानपा–७ को तितौरे मावि द्धितिय र धिमीकरिना मावि तृतीय भएका थिए ।
विद्यालय व्यवस्था समितिका अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक महेन्द्रबहादुर कार्की र संचालन शिक्षक कुल बहादुर कार्कीले गर्नुभएको थियो ।










