
बागलुङ, ७ फागुन ।
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पोखरामा जारी गण्डकी प्रदेश पुरुष क्रिकेट छनौट प्रतियोगितामा बागलुङले दोस्रो जित हात पारेको छ ।
छनौट प्रतियोगिता अन्तरगत बागलुङले आफ्नो दोस्रो जित हातपार्ने क्रममा मंगलबार लम्जुङलाई ४७ रनले पराजित गरेको हो ।
बागलुङले प्रस्तुत गरेको १०९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा लम्जुङ १८.१ ओभरमा सवै विकेट गुमाएर ६१ रनमा समेटिएको थियो ।
लम्जुङको लागि अर्जुन अधिकारीले १५ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
बागलुङको लागि विश्व कार्कीले ३, जगत बहादुर छन्त्याल र विजय विकले २–२ विकेट लिएका थिए ।
त्यस अगाडी बागलुङले टस जित्दै ब्याटिङ रोजेर १९.४ ओभरमा सवै विकेट गुमाउँदै १०८ रनमा समेटिएको थियो ।
बागलुङको लागि सचिन अधिकारीले ३० रन र सगुन कार्कीले २२ बनाएका थिए ।
बलिङमा लम्जुङका प्रभिन वाग्लेले ३ र सुलभ श्रेष्ठले २ विकेट लिए ।
खेलको म्यान अफिदि म्याच बागलुङका विजय विक भएका थिए । उनले व्याटिङमा १७ रन र बलिङमा २ विकेट लिएका थिए ।










