बेरोजगार भत्ता र युवा जनशक्ति

राजेशचन्द्र राजभण्डारी

लेखक राजेशचन्द्र राजभण्डारी

नेपालमा कम्युनिस्टको शक्तिशाली सरकार बनेको १ बर्ष बितेपछि युवालाई बेरोजगार भत्ता दिने नयाँ कार्यक्रम घोषणा गरेको छ । कसलाई के धन्दा कसलाई के को धन्दा घर ज्वाँइलाई खाने कै धन्दा भने झै काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर कै शैलीमा एक बर्षसम्म काम नपाउने युवालाई सरकारले बेरोजगार भत्ता दिने कुरा गरेपछि नेपालका युवाहरू निकै खुशी देखिएका छन् ।
सरकारले १८ देखि ५९ बर्षका बेरोजगारलाई न्युनतम रोजगारी सुनिश्चित गर्ने जुन कार्यक्रम ल्याएको छ । यस बर्ष सरकारले तीन अर्ब ५ करोड रूपैयाँ बिनियोजन गरेको छ । प्रधानमन्त्री बेरोजगार कार्यक्रम सुरू गरिएको छ । जुन आफैमा स्वागतयोग्य मान्नुपर्छ । यस योजनाबाट देशमा ५ बर्ष भित्र झण्डै ७ लाख रोजगार सृजना हुने अपेक्षा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुमान गरेको छ । अहिले ल्याएको कार्यक्रमलाई सफल बनाउन मन्त्रालयले प्रदेश, स्थानीय तहसँग समन्वय गरेर रोजगार सेवा केन्द्र मार्फत कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।
सुचिकृत बेरोजगार परिवारलाई सरकारले एकसय दिनको न्युनतम तलबको ५० प्रतिशत रकम २२ हजार ४ सय १७ रूपैयाँ निर्वाह भत्ता दिने योजना बनाएको छ । स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रले बेरोजगार युवाको लगत आउदो चैत महिना भरि निबेदन मार्फत संकलन गरेर लिने, स्थानीय तहको वडा मार्फत बेरोजगार युवाको सिफारिस लिएपछि १५ दिनभित्र केन्द्रले छानबिन गर्ने अनि यसलाई छानबिन भएपछि बेरोजगार परिचयपत्र उपलब्ध गराउने जुन नीति बनाएको छ त्यो सकारात्मक देखिन्छ । सरकारले बेरोजगारमा सुचिकृत भएका युवालाई १५÷१५ जनाको समूह बनाएर काममा पठाउने योजना बनाएको छ । साच्चै यसलाई सहि रूपमा लागू गर्न सक्ने हो यसले राम्रो उपलब्धि हासिल गर्न सक्ने देखिन्छ । साच्चै यतिबेला देशका युवा जनशक्ति बिदेशिन बाध्य छन् दिनहुँ हजारौं युवा नेपालको त्रिभुवन बिमानस्थलबाट हवाई जहाज चढेर रोजगारीको लागि गइरहेका छन् । सरकारले स्वंय दक्षिण कोरिया कामदार पठाउने भनेर इपिएस मार्फत हरेक बर्ष युवा जनशक्ति पठाएर बहादुरीको काम गरिरहेको छ । अहिले फेरि ४० हजार युवालाई कामको लागि जापान पठाउने तयारी गरिरहेको छ ।
देशमा कलकारखाना छैनन् । उद्योग धन्दा भएको समेत धरासायी बनेको छ । नयाँ उद्योग धन्दा खोल्न कोही तयार छैनन् किनभने यहाँ नत बजार छ, नत सरकारी नीति नै भरपर्दो छ । मजदुरको काम उद्योग धन्दामा काम गर्ने भन्दापनि बन्द हडताल गरेर उद्योग बन्द गराउने काम भन्दा अर्को केही नहुने देखिन्छ । सरकारले चलाउने उद्योग मात्रै राजनीति भागबन्डामा सालासाली, भाइभतिजो भर्ती गर्ने केन्द्र बनेको छ ।
हाम्रो देश कृषि प्रधान हो कि हैन पहिला त्यो स्पष्ट हुन जरुरी छ । पञ्चायतकालमा कृषि प्रधान देश भनेर पाठ्यक्रममा समेत पढ्ने गरिन्थ्यो त्यतिबेलाको शिक्षा कृषि मैत्री थियो । अहिले नुन देखि सुनसम्म सबै बिदेशी भुमिबाट आयात गर्नुपर्ने अबस्था छ । हामीले भएको काम गर्न सक्ने जनशक्ति बिदेश पठाउने भएको जग्गा जमिन बाँझै राख्ने अनि देशमा आर्थिक समृद्धि हाम्रै पालोमा भनेर राजधानीको तारे होटलमा भाषण गरेर के अर्थ छ ।
अहिले सरकारले ल्याएको युवालाई बर्षमा १०० दिन काम दिन नसके, काम पाउन नसके बेरोजगार घोषणा गरेर बेरोजगार भत्ता दिने जुन कुरा ल्याएको छ साच्चै यो कुरामा अझ धेरै राजनीति हुने निश्चित छ । अहिले वडामा फाराम भर्दा देखि फाराम स्वीकृत गर्दा समेत ठूलो राजनीति हुने निश्चित छ । हिजो सरकारले गरिबी परिचयपत्र बितरण गर्दा परिचयपत्र गरिबले पाउन नसकेको मात्रै गाउँमा हुनेखाने धनीले पाएको कुरा अहिलेसम्म मिडियामा खबर आइरहेको छ । यो बेरोजगार भत्ता पनि यस्तै नहोला भन्न सकिदैन ।

२०७५ फागुन ६ गते प्रकाशित