अन्तर कलेज स्तरिय फुटबलको उपाधि चिल्ड्रेन लाईफलाई

अर्जुन कार्की
बागलुङ, २७ माघ
बागलुङ बजारमा भएको अन्तर कलेज स्तरिय ९ ए साईड फुटबलको उपाधि चिल्ड्रेन लाईफ ईङ्गलिस बोर्डिङ स्कुलले जितेको छ ।
धौलागिरी अञ्चलकै एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाईनल खेलमा चिल्ड्रेन लाईफले डिग्नीटी कलेजलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।


फाइनल खेल ७० मिनेटको खेलाइएको थियो । प्रतियोगितामा ३ ओटै गोल दोस्रो हाफमा भएका थिए । खेलको सुरुवातबाट नै आक्रमक खेल खेलेको चिल्ड्रेनले पहिलो गोलको लागि दोस्रो हाफसम्म कुर्नुपर्यो । चिल्ड्रेनको लागि खेलको ४३ औं मिनेटमा दिपेश मल्लले गोल गरेका थिए । डिबक्स बाहिरबाट मिडफिल्डर अजय पुनको क्रस पासमा मल्लले गोल गरेका हुन । चिल्ड्रेनको लागि दोस्रो गोल खेलको ६८ औं मिनेटमा मनोज थापाले गरेका थिए । मैदानको विचभागबाट २ जना डिफेन्डरलाई कुनै मौका नदिई बल अगाडी बढाएका थापाले कर्नर एरियाबाट आकर्षक गोल गरेका थिए ।
खेलको सान्तोना गोल डिग्नीटीका विजय केसीले खेलको ६९ औं मिनेटमा गरे । डिग्नीटीका नारान खत्रीको प्रहार चिल्ड्रेनका गोलकिपर सौगात खड्काको पञ्चबाट रिबाउन आएको बललाई केसीले गोलमा परिणत गरेका थिए ।
प्रतियोगिताको विजेता चिल्ड्रेन लाईफले ५० हजार रुपैयाँ प्राप्त गर्योभने उपविजेता डिग्नीटीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।