ढोरपाटन क्षेत्रमा हिमपातः आहारा नपाए पछि एक चरी बाघको मृत्यु

गोठमा रहेको चरी बाघ । तस्विरः विरबहादुर थापा

बागलुङ, २४ माघ
निरन्तर हिमपात भए पछि बागलुङको ढोरपाटन शिकार आरक्षमा एक चरी बाघ आहारा अभावमा मरेको छ ।
अत्याधिक चिसोको कारण आहारा खोज्न नसक्ने अवस्थामा पुगेको एक चरि बाघ बिहिबार ढोरपाटन नगरपालिका–९ पाखाथर स्थित मिपा लामाको गोठमा भेटिएको थियो । गोठमा अत्यान्त नाजुक अवस्थामा फेला परेको चरी बाघलाई ढोरपाटन शिकार आरक्षणका कर्मचारीले उद्धार गरी डोकोमा राखेर कार्यालय लगेका थिए ।
कार्यालयमा लगेर तातोमा राख्ने तयारी गर्दा गर्दै बाघ मरेको वन रक्षक विरबहादुर थापाले जानकारी दिनुभयो । भोक र चिसोकै कारण बाघ मरेको हुनसक्ने थापाको अनुमान छ । ढोरपाटन क्षेत्रमा विगत दुई हप्ता अघिदेखि परेको हिउँ अझै पग्लेको छैन ।
बुधबार रातीदेखि सो क्षेत्रमा पुन भारी हिमपात भएको छ । मृत बाघलाई आरक्षण केन्द्रको सूचना केन्द्रमा राखिएको छ । शुक्रबार पोष्टमार्टम पछि व्यावस्थापन गरिने वन रक्षक थापाले जानकारी दिनुभयो ।