भीमापोखरामा कृषी प्रदर्शनी मेला

बागलुङ, २३ माघ ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखमा एक दिने वृहत कृषी प्रदर्शनी मेला तथा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको आयोजना र पशु सेवा शाखा काठेखोलाको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले निर्वाहमुखी कृषि पेसालाई परिवर्तन गरी व्यवसायिक उन्मुख कृषिमा लाग्न कृषकहरुलाई आग्रह गर्नुभएको थियो ।
थोरै परिमाणको उत्पादनले बजार नपाउनुका साथै पुरा महिना खाना समेत नपुग्ने उल्लेख गर्दै उहाँले धेरै मात्राको उत्पादनलाई बजारिकरणको लागि सहकारीले सहजिकरण गर्र्ने बताउनुभयो ।‘गाउँपालिकाले व्यवसायिक कृषिमा लगानी र प्रोत्साहनका कार्यक्रमलाई प्रथामिकता दिएको छ’ उहाँले भन्नुभयो–‘ आगमी दिनमा कृषकको नर्सरीमै पुगेर प्रोत्साहन र अनुदान वितरण गर्नेछौँ ।’ जनताको जीवन स्तर सुधार र परिवर्तनका क्षेत्रमा हुने सबै योजना र कार्यक्रमलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा, सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका संरक्षक मणीभद्र शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम, कृषि विज्ञ केन्द्रका कृषि प्रसार अधिकृत विनोद शर्मा, शिक्षासेवी टिकाराम सापकोटा लगायतले बोल्नुभएको थियो ।


मेलामा प्रदर्शनका लागि राखिएका पशु तर्फ सोमबहादुर विकको बाख्रा प्रथम, तेजबहादुर मल्लको बोका द्धितिय र टिकाराम उपाध्याको खसीलाई तृतीय पुरस्कार प्रदान गरिएको थियो । मेलाको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा तितौरे मावि प्रथम, शिवालय आधारभुत विद्यालय द्धितीय र जनप्रिय प्रावि तृतीय भएका थिए ।
सो अवसरमा संचालित पशुस्वास्थ्य शिविरमा एक सय ५० पशुको गोवर परीक्षण गर्नुका साथै औषधी वितरण गरेको पशु प्राविधिक रामप्रसाद कँडेलले जानकारी दिनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता, भूमिराज गौतमको स्वागत र चुडामणी शर्माको संचालनमा सम्पन्न भएको थियो ।