
बागलुङ, १९ माघ
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको आयोजना र जिल्ला फुटबल संघ बागलुङको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरुभएको २ दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ ।
जिल्लामा क्रियाशिल रहेका २१ जना पत्रकारहरु सहभागिता रहेको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कान्तिपुर एफएमका समाचार सम्पादक पवन आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव तथा हाम्रो खेलकुद डटकमका प्रधानसम्पादक प्रकाश तिमल्सिनाले गर्नुभएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले खेलकुद मैदान भित्र र बाहिर दुवै तिर हुने भएकाले राम्रा र नराम्रा समाचारहरु प्रकाशन गरेर खेल क्षेत्रको विकासको लागि झकझकाई रहनुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा लागेपछि सवै अनुशासित हुने बताउँदै स्वास्थ्यको लागि पनि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।
समापन समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रवक्ता पवन आचार्य, मञ्चका महासचिव प्रकाश तिमल्सिनाले खेलकुद पत्रकारितामा लाग्दा समयको व्यवस्थापन गर्दै खेलकुदमा लगाव हुनुपर्ने बताउभयो । यस्तै जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले पत्रकार महासंघले जिल्लाका पत्रकारहरुलाई खेलकुद पत्रकारिता तालिमको आवश्यकता रहेको जनाएकाले सहयोग गरेको बताउनुभयो । उहाँले तालिमबाट खेलकुदको बारेमा पत्रकारहरुले नयाँ कुरा सिक्न सक्ने भएकाले आफुहरुले आर्थिक रुपमा सक्षम नभएपनि व्यवस्थापन गरेर सहयोग गरेको बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले जिल्लाका पत्रकारहरु सवै कुरामा सक्षम हुनुपर्ने र सवै विटको पत्रकारिता गर्नुपर्ने अवस्थामा खेलकुद पत्रकारिताको आवश्यकता भएकाले तालिम संचालन गरिएको बताउनुभयो । उहाँले खेलकुदका कुराहरु धेरै टेक्नीकल हुने भएकाले गाह्रो हुने गरेको अवस्थामा तालिमबाट पत्रकारहरुलाई सजिलोसँग बुझ्न मद्धत गरेको बताउनुभयो । अध्यक्ष शिरीषले अन्य जिल्लाहरुमा खेल संघहरुले खेलकुदको पूर्वाधारको क्षेत्रमा मात्र काम गरेपनि जिल्ला फुटबल संघ बागलुङले पत्रकारिता तालिममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
समापन समारोहमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्तीमगर, प्रशिक्षार्थीहरु सिर्जना पन्त, कमल पौडेलले बोल्नुभएको थियो ।
पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको स्वागत सहसचिव नविन शिशिर विक र संचालन सचिव राम बहादुर थापाले गर्नुभएको थियो ।










